२८ मंसिर २०८२, आइतबार
सरकार गठन

नेपाली कांग्रेस लुम्बिनी प्रदेश र केन्द्रबिच टकराव, नसच्चाए उपयुक्त निर्णय लिने चेतावनी

प्रकाशित मिति :  25 July, 2024 7:12 am


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्ति छनौट प्रकृयालाई लिएर प्रदेश र केन्द्रबिच विवाद देखिएको छ ।

प्रदेश सभापति अमरसिंह पुनले सरकारमा सहभागि भएका व्यक्ति छनौट प्रक्रियाका सन्दर्भमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिलाई पुर्णतया बेवास्ता गरिएको भन्दै सभापति शेरबहादुर देउवालाई ध्यानकर्षण पत्र पठाएका छन् ।

पत्रमा संघीयता एवं समावेशिताको मर्म र पार्टीको बिधान (नेपाली कांग्रेसको संशोधित विधान, २०१७ को परिच्छेद ४ दफा १३ को ७(ठ)) अनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिएको ध्यानकर्षण पत्रमा उल्लेख छ ।

नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भैरहेको बेला नेपाली कांग्रेसका आम साथीहरूको भावना विपरित यस किसिमको निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर ध्याकर्षण पत्रमा छ ।

प्रदेश सभापति पुनले लेखेको ध्यानाकर्षण पत्रमा भनिएको छ,“तसर्थ उक्त निर्णयलाई पुनर्बिचार गर्न नेपाली कांग्रेस केन्द्रीय नेतृत्वलाई हार्दिक आग्रह गर्दछौँ, अन्यथा बैधानिक प्रकृया विरुद्ध गरिएको यस कार्यबाट असन्तुष्ट जिल्लाका साथीहरूसँग बृहत् छलफल गरी यथोचित निर्णयमा पुग्न बाध्य हुने कुरा जानकारी गराउदछु ।”

लुम्बिनीमा पनि संघको समिकरण अनुसार नेकपा एमाले र कांग्रेस मिलेर सरकार गठन गरेका छन् । नेपाली कांग्रेसले ५ मन्त्रालय पाएकोमा ४ मन्त्रीले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।

जन्मजय तिमिल्सिनालाई अन्तिममा रोकिएको छ ।

सपथ ग्रहण गरेका मध्ये प्रचण्डविक्रम शेखर कोइराला पक्षका हुन भने बाँकी शेरबहादुर देउवा पक्षका हुन् ।

न्यौपानेलाई शेखर कोइराला पक्षले सिफारिस समेत गरेको थियो तर निर्णय प्रकृयामा प्रदेशलाई वेवास्था गरिएको भन्दै सभापति पुन रुष्ट छन् । सरकार गठनको विषयमा सार्वजनिक रुपमा विवाद देखा परेको छ ।



प्रतिक्रिया दिनुहोस !