सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन्: मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १७ शव आफन्तले बुझेको संसद्लाई जानकारी गराएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् । यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दूतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको उनले बताए ।
मन्त्री पाण्डेले सो विमान दुर्घटनामा परी गम्भीर घाइते क्याप्टेन मनिषरत्न शाक्य उपचाररत रहेको र उनको अवस्था खतरामुक्त रहेको पनि बताए । उनले मृतकको शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाइन्सले व्यहोरेको पनि जानकारी दिए ।
साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेलगत्तै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन शाक्यको गम्भीर अवस्थामा उद्धार गरिएको थियो ।