मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १५ स्वयम्भू स्तुपाबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङको गल्छि गाउँपालिका वडा नम्बर ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङलाई बागमती प्रदेश-०२-०३३ प २७८९ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत साउन ७ गते सोमबार काठमाडौँकाे चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ सानो मन्दिरका राज कुमार लोले घर अगाडि पार्किङ गरिराखेको बागमती प्रदेश-०२-०३० प ०५९९नम्बरको मोटरसाइकल चोरी भएको भनि दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा तामाङलाई उक्त मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै सोही ठाउँबाटै गल्छि गाउँपालिका वडा नम्बर ५ सागिनेका २० वर्षीय सरोज तामाङलाई पनि बागमती प्रदेश ०२-०३७ प ८८ ५१ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
वास्तविक नम्बर बागमती प्रदेश-०२-०४२ प २९६४ रहेको उक्त मोटरसाइकल ठमेल सात घुम्तिको एक होटलको पार्किङबाट हराएको भनि लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर १० का सुदिप अधिकारीले २०८० कार्तिक २६ गते खोजतलासका लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका उनिहरूलाई आज थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।