नागरिकका निराशा चिर्न भाषण भन्दा धेरै काम गरेर देखाउनुपर्नेछः उपप्रधानमन्त्री सिंह
काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन् ।
काठमाडौँमा सोमवार नेपाल फ्रेट फरवार्डरस एशोसिएशनको आयोजनामा भएको ३० औं कार्गो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकारले धेरै भाषण गर्ने भन्दा काम गरेर देखाउने प्रतिवद्धता जनाए । सोही अनुसार मौद्रिक नीति आएको पनि उनको भनाइ छ । वर्तमान मौद्रिक नीति व्यवसाय गर्न सहजता प्रदान गर्नेगरी आएको बताए । उनले ऐन, कानूनको कार्यान्वनय नहुँदा र व्यवस्थित गर्न नसक्दा भोग्नुपरेका समस्या समाधानका लागि सरकारलाई दबाब दिइरहन पनि आग्रह गरे ।
“तपाईंहरूले काम गर्दाखेरी जुन नीतिगत तवरमा समस्या भोगिरहनुभएको छ, त्यसको लागि अलि खुकुलो पार्ने, व्यवस्थित गर्ने र सरलीकृत गर्ने भुमिका निर्वाह गर्नेछु । काम गर्दैगर्दा तपाईंहरुले भोग्दै आउनुभएका समस्यालाई सरकारलाई बारम्बार घच्घच्याइरहनु पर्छ । एउटा कार्यक्रममा भन्यो, त्यसपछि भइहाल्छ की भनेर बस्नुभयो भने त्यसमा गम्भीर्यता हुँदैन । यसमा तपाईंहरूले समय समयमा घच्घच्याइरहनु पर्छ,”उनले भने ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले समस्या परेका ठाउँलाई सहज र नीतिगत रूपमा कार्यान्वयन गर्न आफूले सक्ने सहयोग गर्ने पनि बताए ।