२४ मंसिर २०८१, सोमबार

संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा दलहरूबिच जुट्यो सहमति

प्रकाशित मिति :  1 August, 2024 11:55 am


काठमाडाैँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरूबिच सहमति जुटेको छ ।

बिहीवार सिंहदरबारमा बसेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति गरिएको हो ।

यद्यपि प्रतिवेदन तयार पारी शिर्ष नेताहरूलाई बुझाउने काम बाँकी रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनले टिआरसीसँग सम्बन्धित बिलका बारेमा अहसमतिका विषयहरूलाई कार्यदलको बैठकले सहमतिमा पु¥याएको र बैठकबाट सतप्रतिशत सहमति भएको बताए ।

उनले शुक्रवार (भोलि) वा (पर्सि) शनिवारसम्म प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने बताए ।उनले पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी सहमति गरिएको बताए ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सुरक्षाकर्मीका लागि आवश्यक राहत परिपूरण, बहिर्गमित योद्धाहरुका बारेमा पनि स्पष्ट छलफल भएको बताए । उनले गम्भीर मानव उल्लंघनका सन्दर्भमा नियतवश वा स्वेच्छाचारी ढंगले भन्नेकुरा पनि उल्लेख गरिएको बताए ।

उनले पीडितलाई सम्बोधन गर्नुपर्ने, न्याय दिनुपर्ने कामलाई अघि बढाउन कानून निर्माण गर्नेकुरामा सहमति भएको बताउँदै पीडितले छिटो भन्दा छिटो न्याय पाउने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !