राज्यका सबै निकायहरूमा सदाचार कायम हुनुपर्नेमा राष्ट्रिय सभा सदस्यहरूको जोड
काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले राज्यका सबै निकायहरूमा सदाचार कायम हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुशासनको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा भएको छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्यहरूले राज्यका सबै निकायमा सदाचार कायम हुनुपर्नेमा जोड दिएका हुन् ।
सदस्यहरूले सदाचार नीति आवश्यक भएको बताएका छन् । तर नीति ल्याएर मात्रै नहुने भन्दै त्यसको कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनीहरूको भनाई छ ।
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले सदाचार नीति बनाएर लागु गर्न सरकारलाई आग्रह गरे । उनले स्वैच्छिक, स्वघोषित व्यवहारमा कार्यान्वयन गर्न गरिएको नैतिक अठोट नै सदाचार भएको भन्दै संविधान र कानुन भन्दा यसको नैतिक मूल्य महँगो हुने बताए । उनले राजनीतिक नेतृत्व र कर्मचारीलाई अनुशासित, सतर्क र जबाफदेही बनाउनका लागि निश्चित विधि बनाउनुपर्ने बताए ।
राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले सदाचार कायम गर्न सरकार जिम्मेवार भएको धारणा राखिन् । उनले नेता र नेतृत्वले सही सोच राखेर काम गर्नुपर्ने भन्दै कर्मचारीलाई दोष दिएर नहुने बताइन् ।
राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले राजनीतिक क्षेत्रमा राजनीतिक इमानदारिता र नैतिकता चाहिने भन्दै पार्टीहरूमा त्यो भएरनभएको मूल्याङ्कन गर्नुपर्ने बताए । उनले आचरणको हिसाबले नेपाली समाज धेरै पछाडि परेको बताए ।
राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सरकारले गरेका कामहरू सदाचारी हुन् कि होइनन् भनेर प्रश्न उठाए । उनले सूचनाको हक नदिएर संविधान उल्लंघन गरेको कसुरमा जरिवाना तिरेका व्यक्तिले राजनीतिक नियुक्ति पाएको उल्लेख गर्दै यो सदाचार नीति भित्र पर्छ कि पर्दैन भनेर प्रश्न गरे । उनले विभिन्न आरोप लागेका व्यक्तिहरू मन्त्री बनेका भन्दै यसप्रति पनि सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले सदाचार लागू गर्ने भए कानुन बनाएर लागू गर्नुपर्ने बताए । उनले नीतिद्वारा सदाचार लागू नहुने धारणा राखे । नीति ठोस नहुने भन्दै सदाचार कानुन बनाएर ठोस रूपमा लागू गर्नुपर्नेमा उनको जोड छ ।
राष्ट्रिय सभा सदस्यहरूले नेपालमा नीति धेरै भएको भन्दै नीतिहरूको कार्यान्वयन भने हुन नसकेको बताए । नीतिहरूलाई कार्यान्वयन गर्नुपर्नेमा सबैको जोड रहेको छ ।