एमाले नेता, कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशनः निष्ठापूर्वक काम गर्नू, गुटको पक्षमा नलाग्नू
काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतवार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन् । गुटबन्दी गरेर, पक्ष, विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल नहुने भएकाले पार्टीका नेता, कार्यकर्ताहरूले त्यसको पक्षमा लाग्न नहुने ओलीको तर्क थियो ।
प्रधानमन्त्री ओलीले एक एक जालले समुन्द्र समेट्न नसक्ने उल्लेख गर्दै समुन्द्ररुपी एमालेमा पनि गुटबन्दी र सानोतिनो कुरामा अल्झिएर बस्न नहुने बताए । उनले एमालेले देश र जनताको पक्षमा ठूल्ठूला सफलता अझै हासिल गर्दै जाने जिकिर गर्दै सोही अनुसारको कामलाई बढावा दिनुपर्ने बताए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले एमाले प्रवेश गरेकाहरूलाई पार्टीमा इमान्दारिताका साथ काम गर्न पनि आग्रह गरे ।








