२० मंसिर २०८२, शनिबार

सरकारले हवाई टिकटमा हुने पद र पहुँचको दुरुपयोग तत्काल रोक्नुपर्छः सचेतक बराल

प्रकाशित मिति :  5 August, 2024 3:02 pm


काठमाडाैँ । सत्तारुढ नेकपा (एमाले) की सचेतक सुनिता बरालले हवाई टिकटमा पद र पहुँचको दुरुपयोग गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेकी छन् ।

हवाई यातायातका लागि पद र पहुँचको दुरुपयोग हुँदा सर्वसाधारणले टिकट नपाउने दुःखद् अवस्था रहेको उल्लेख गर्दै उनले त्यस्तो अवस्थाको अन्त्य हुनेगरी आवश्यक व्यवस्था मिलाउने काममा सरकारले ढिलाई गर्न नहुने उनको भनाइ थियो ।

सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सचेतक बरालले विभिन्न जिल्लाहरूको सडक सञ्जाल मर्मतको काममा पनि तिब्रता दिन सरकारको ध्यानाकर्षण गराइन् । दशैँ, तिहारजस्ता चाडपर्व आउन लागेकाले सरकारले सर्वसाधरणले सार्वजनिक यातायातबाट सहज ढंगले घर जान पाउने गरी सडक मर्मतको काम गर्नुपर्ने उनले बताइन्।

“चाँडबाड आउने क्रम सुरू भएकाले विभिन्न जिल्लाहरूमा जाने सडक मर्मत गर्ने कामलाई तिब्रता दिन जरुरी छ । हवाई यातायातमा असाध्यै धेरै अनियमितता हुन्छ भन्ने कुराको व्यापक गुनासो छ । पद र पहुँचको दुरुपयोग गर्ने र सर्वसाधारण जनताले टिकट नै नपाउने यो असाध्यै धेरै दुःखद् अवस्था छ,” उनले भनिन् ।

सचेतक बरालले सर्वसाधारणले सार्वजनिक यातायातमा धेरै दुःख पाउने गरेकोतर्फ पनि सरकारलाई सचेत गराइन् ।



प्रतिक्रिया दिनुहोस !