सरकारले बहुमतको घमण्ड देखाए दुर्भाग्य हुन्छः अध्यक्ष दाहाल
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी समेत दिए । उनले आफूहरू संविधान संशोधनको विपक्षमा नरहेको भन्दै विधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिहरुमा टेकेर उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनका संशोधन भए समर्थन गर्ने बताए ।
उनले अहिलेको सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा परिमार्जन नभइ जनताको अधिकार कटौति गर्ने उद्देश्य रहेको जिकिर गरे । उनले दुई राजनीतिक दलहरु मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने बताए । उनले समानुपातिकता, समावेशिताको अधिकार कटौति गर्ने दुःशाहस सह्य नहुने बताए ।
“अहिलेको पार्टीहरूको प्रतिनिधि सभा र राष्ट्रिय सभामा जस्तो उपस्थिति छ, उनीहरूले मात्रै गर्दैमा संविधान संशोधन संविधानतः कानूनतः हुनसक्ने स्थिति नै छैन । यसको कुनै तात्विक अर्थ छैन । त्यो दुःशाहस गरियो, जनताले प्राप्त गरेको समानुपातिकता, समावेशिताको अधिकार कटौति गर्ने दुःशाहस गरियो भने त्यो नेपाली जनतालाई पनि सह्य हुन्न । हामी विगतमा जस्तै सडकमा गएर प्रतिवाद गर्न बाध्य हुन्छौँ,” उनले भने ।