३१ भाद्र २०८१, सोमबार

बुटवलमा मुख्यमन्त्री सम्पर्क कार्यालय नभई मुख्यमन्त्री निवास हो: मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  6 August, 2024 3:19 pm


——- सन्तोषकुमार गुप्ता——–


भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा मुख्यमन्त्री कार्यालय नभई बिगतदेखि नै रहेको मुख्यमन्त्री निवास रहेको जानकारी दिएका छन् । केही दिन अघि विभिन्न सञ्चार माध्यममा बुटवलमा मुख्यमन्त्री सम्पर्क कार्यालय सञ्चालन भएको भन्ने समाचारप्रति खण्डन गर्दै मुख्यमन्त्री आचार्यले बुटवलमा रहेको विद्यमान मुख्यमन्त्री निवास मात्र सञ्चालनमा ल्याएको स्पष्ट पारे।

बुटवलमा प्रदेश प्रमुखको कार्यालय रहेको र पटक–पटक सरकारका गतिविधिलगायतका विषयमा प्रदेश प्रमुखसँग छलफल गर्न बुटवल जानुपर्ने अवस्था रहेको बताउँदै मुख्यमन्त्री आचार्य बुटवल जाँदा होटेलमा बस्नु भन्दा पहिलेदेखि नै रहेको मुख्यमन्त्री निवासलाई सञ्चालनमा ल्याएको बताए ।

“बुटवलमा रहेको मुख्यमन्त्री निवासमा रहेका सामग्रीहरु राप्ती उपत्यका देउखुरी ल्याएर राख्नका लागि कुनै सरकारी भवन नभएको र एउटा मुख्यमन्त्री काम विशेषले बुटवल जाँदा उक्त सामान रहेको घरमा नबसेर के होटेलमा बस्ने त ?”, उनले प्रतिप्रश्न गरे,”‘म बुटवल जाँदा होटेलमा बसेर अनावश्यक खर्च सरकारलाई थप्न चाहन्न ।”

प्रदेशका अन्य जिल्ला जाँदा जहाँ सरकारी भवन छैन त्यहाँ मात्र होटेलमा बस्ने नत्र सरकारी भवन मै बसेर प्रदेशको काम गर्ने योजनाका साथ अघि बढेको बताउँदै मुख्यमन्त्री आचार्यले भने, “म काम विशेषले बुटवल जाँदा होटेलमा होइन सरकारी भवनमा बस्छु र त्यहीबाट जनतासँग भेटघाट गर्ने र प्रदेश प्रमुखसँगको काम अघि बढाउँछु । म बुटवल जाँदा स्वयम् हाम्रो मुख्यमन्त्री कार्यालयको लगानीमा विद्यमान अवस्थासम्म रहेको निवासमै बसेर काम गर्दै आएको छु ।”

बुटवल जाँदा विद्यमान अवस्थामा रहेको निवासमा बसिरहेको विषयलाई लिएर केही सञ्चारमाध्यमले बुटवलमा सम्पर्क कार्यालय खोलेको भन्ने अपबाह फैलाएको बताउँदै उनले त्यसमा कुनै सत्यता नभएको बताए। साथै उनले देउखुरीमा निर्माण भइरहेको भवन पूर्णरुपमा सम्पन्न अझै एक वर्ष लाग्ने र निर्माण सम्पन्न नहुँदासम्म बुटवल जाँदा त्यही भवन मै बस्ने समेत बताए ।

यता प्रदेश सरकारका प्रबक्ता तथा कृषि, भूमि तथा सहकारी मन्त्री दिनेश पन्थीले बुटवलमा मुख्यमन्त्री सम्पर्क कार्यालय नभई मुख्यमन्त्री निवास मात्र भएको स्पष्ट पारे । लुम्बिनीको प्रदेश प्रमुख कार्यालय बुटवलमा रहेको र नियमित कामका लागि मुख्यमन्त्री बुटवल जाँदा बस्नका लगि पहिलेदेखि नै रहेको निवास बस्ने गरेको प्रवक्ता पन्थीले बताए ।

“प्रदेश प्रमुखको कार्यालय राजधानीमा सार्ने काम संघ सरकारको हो । जबसम्म बुटवलबाट प्रदेश प्रमुखको कार्यालय देउखुरी सर्दैन, तबसम्म मुख्यमन्त्री नियमित रुप मै बुटवल आउनु पर्छ । बुटवल आउँदा होटेलमा बस्नु भन्दा पहिलेदेखि नै रहेको निवासमा बस्दा राम्रो हुने भएकाले मुख्यमन्त्रीले निवास प्रयोग गर्नु भएको मात्र हो,” प्रवक्ता पन्थीले भने, “केही सञ्चारमाध्यमले मुख्यमन्त्री निवासलाई सम्पर्क कार्यालय भनेर गलत प्रचार गर्नुभयो । यो एकदमै दुःखद् विषय हो ।”

मिडियाले नबुझेर भन्दा सरकारलाई बदनाम गराउने उद्देश्यले गलत समाचार सम्प्रेषण गरेको भन्दै उनले खण्डन गरे । उनले उक्त निवासबाट प्रदेश सरकारका कुनै पनि कर्मचारी नराखिएको समेत स्पष्ट पारे ।

यस्तै मुख्यमन्त्री कार्यालयका कायमुकायम प्रमुख सचिव महादेव पन्थले बुटवलमा मुख्यमन्त्री सम्पर्क कार्यालय नभई पहिलेदेखि यथावत रहेको मुख्यमन्त्री निवास मात्र रहेको बताए । उनले अहिलेका मुख्यमन्त्रीले उक्त निवास प्रयोग गर्नु भएको तर कुनै प्रशासनिक काम भने नभएको बताए ।

उनले उक्त निवासमा मुख्यमन्त्री बुटवल जाँदा बास बस्ने र जनता भेट्ने थलोको रुपमा रहने समेत बताए । बुटवलमा रहेको निवासमा एक जना सरकारी कर्मचारी समेत नरहेको प्रमुख सचिव पन्थले स्पष्ट पारे । उनले पहिलेदेखि नै उक्त भवन निवासका रुपमा रहेको र अहिले मुख्यमन्त्रीले उक्त भवनलाई निवासको रुपमा प्रयोग गर्नुभएको बताए ।



प्रतिक्रिया दिनुहोस !