२० मंसिर २०८२, शनिबार

सडक दुर्घटना न्युनिकरणका लागि सरकारले सबै उपायहरू अवलम्वन गर्छः गृहमन्त्री लेखक

प्रकाशित मिति :  6 August, 2024 4:03 pm


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्युनिकरण गर्नका लागि सबै उपायहरू अवलम्बन गर्ने बताएका छन् ।

मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटना न्युनिकरण गर्नका लागि सरकारले सबै उपायहरू अवलम्वन गर्ने बताएका छन् । उनले सडक दुर्घटनाहरू निरन्तर भइरहेका भन्दै यस्ता दुर्घटनाहरू न्युनिकरण गर्न आवश्यक भएको बताए ।

उनले दुर्घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक भएको भन्दै यसको निम्ति सरकारले सबै उपायहरू अवलम्बन गर्ने स्पष्ट पारे । उनले सिमलताल दुर्घटना सम्बन्धी प्रतिवेदन अध्ययन गरेर प्रतिवेदनमा उल्लेख भएका सबै सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले सडक दुर्घटना न्युनिकरणका लागि मन्त्रालय सँगसँगै अन्य निकायहरूको भुमिका हुने भन्दै सुझावलाई कार्यान्वयन गर्नका लागि मातहतका निकाय र सरोकारवाला निकायहरूलाई पत्राचार गर्ने जानकारी दिए ।

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर २९ को सिमलटार भन्ने ठाउँमा गत असार २८ गते पहिरोमा परी दुई यात्रुवाहक बस बेपत्ता भएको थियो । काठमाडौँबाट गौरको लागि छुटेको गणपति डिलक्समा ३६ जना यात्रु रहेकोमा ३ जना यात्रु मात्रै जीवित रहेका थिए ।

त्यस्तै वीरगञ्जबाट काठमाडौँको लागि आउँदै गरेको एञ्जल डिलक्स बसमा ३६ जना यात्री रहेकोमा कोही पनि जिवित फेला परेका छैनन् । हालसम्म २४ वटा शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको अवस्था छ ।



प्रतिक्रिया दिनुहोस !