२३ भाद्र २०८१, आइतबार

मिडिया काउन्सिल विधेयकको नाम आम सञ्चार परिषद् विधेयक राखिने

प्रकाशित मिति :  6 August, 2024 4:11 pm


काठमाडौँ । मिडिया काउन्सिल विधेयक २०८० को नाम आम सञ्चार परिषद् विधेयक राखिने संसदीय समितिमा सहमति जुटेको छ ।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको थियो । सोही बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आम सञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो ।

समिति सदस्यहरूले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर संशोधन प्रस्ताव समेत हालेका थिए । बैठकमा बोल्दै सदस्यहरूले सो नामलाई नेपालीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताएका थिए । यससँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समिति सभापति जयन्तीदेवी राईले घोषणा गरिन् ।

अब परिवर्तित नाम अनुरूप बाँकी प्रक्रिया अगाडी बढाउने उनले बताइन् । उनले विधेयकको नाम परिवर्तन गरेको नभई नेपाली भाषालाई जोगाउने उद्देश्यसहित नामको नेपालीकरण मात्रै गरिएको स्पष्ट पारिन् । विधेयकभित्रको विषयवस्तुहरू भने परिवर्तन नहुने उनको भनाई छ ।

सभापति राईले सो विधेयक सञ्चार क्षेत्रलाई सरकारले नियन्त्रण गर्नेगरी आएको भन्ने सरोकारवालाहरूको गुनासो रहेको भन्दै कुनैपनि हालतमा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न नदिइने बताइन् । उनले सिफारिस समितिको सम्बन्धमा पनि समितिको असहमति रहेको भन्दै सो कुरा सञ्चारमन्त्रीलाई समेत जानकारी गराइएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !