२३ मंसिर २०८१, आइतबार

निर्वाचनको ऋण तिर्न वडाध्यक्ष बेलायत प्रस्थान

प्रकाशित मिति :  6 August, 2024 5:57 pm


काठमाडाैँ । दाङकाे राप्ती गाउँपालिकाका वडा नम्वर ८ का अध्यक्ष चन्द्रबहादुर गुरुङ् वैदेशिक रोजगारका लागि बेलायत प्रस्थान गरेका छन् । गत २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा गुरुङ् निर्वाचित भएका थिए।

निर्वाचनमा उम्मेदवार हुँदा लागेको खर्चका साथै छोराछोरी पढाउँदाको खर्च र आमाको उपचार गर्दा लागेको ऋण तिर्न नसकेपछि वडाध्यक्ष गुरुङ् ऋणको भारी बोकेर वैदेशिक रोजगारका लागि बेलायत प्रस्थान गरेको पारिवारिक स्रोतले जनाएको छ ।

निर्वाचनमा उम्मेदवार हुँदा छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा लागेको करिब ४० लाख ऋण तिर्न नसकेपछि वडाध्यक्ष गुरुङ् बाध्य भएर वैदेशिक रोजगारका लागि बेलायत गएको उनकी श्रमती संगीता गुरुङ्ले जानकारी दिइन् ।

“वडाध्यक्षको उम्मेदवार भएपछि लागेको ऋणसहित छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा धेरै ऋण लाग्यो । लिएको ऋणमा ब्याज थपिदै गयो । करिब ४० लाखसम्म ऋण पुग्यो । लागेको ऋण तिर्ने कुनै उपाय रहेन, न त बेचेर तिर्नका लागि जग्गा जमिन छ, न त पैसा आउने कुनै स्रोत छ । वडाध्यक्ष बाफत सरकारले दिने तलब भत्तावापत बडो मुस्किलले ३०\३५ हजार आउथ्यो । त्यो पैसाले घर खर्च चलाउने मुस्किल हुन्थ्यो”, गुरुङ्ले भनिन् ।

तीस पैँतिस हजार तलबले पारिवारिक लालनपालनमा समस्या भएपछि श्रीमानले देश छोडेको बताउँदै वडाध्यक्ष गुरुङ्की श्रमतीले भनिन्, “छोराछोरीको स्कुल फिस तिर्ने कि ? आमाको उपचार गर्ने कि ? घर खर्च चलाउने ?”

वडाध्यक्ष गुरुङ्की आमा बालिकादेवि गुरुङ् दीर्घ रोगको बिरामी थिइन्। आमा बालिकाको काठमाडौँ र बुटवल लगायतका ठाउँमा उपचार गर्दागर्दै गतवर्ष उनको मृत्यु भयो । आमाको उपचारमा पनि लाखौँ रकम खर्च भयो । निर्वाचनको ऋणमा आमाको उपचार गर्दाको ऋण थपिदा समस्यामा परेको संगीताले बताइन्। साहूहरूको दिनप्रति दिन दबाब बढ्दै जाँदा इज्जत जोगाउन श्रीमान् बेलायत गएको उनले बताइन् ।

वडाध्यक्ष गुरुङ्का बुबा निमबहादुर गुरूङ्ले बेलायतको रिटायर सेना थिए। बुबाको मृत्युपछि बेलायत सरकारले रिटाएर भएका सेनाका छोराछोरीलाई रोजगार दिने व्यवस्था गरेअनुसार उनले बेलायतमा रोजगारीका लागि प्रक्रिया अगाडि बढाएर आइतबार बेलायत प्रस्थान गरेको पारिवारिक स्रोतले जानकारी दियो ।

कार्यवाहक अध्यक्ष पुनलाई
यता वडाध्यक्ष गुरुङ्ले कार्यवाहक अध्यक्षको जिम्मेवारी भने वडा सदस्य चम्फा पुनलाई दिएका छन् । वडाध्यक्ष गुरुङ्ले लिखित रूपमै कार्यवाहक अध्यक्षका रूपमा वडा सदस्य पुनलाई जिम्मेवारी दिएको वडा सचिव असलेक चौधरीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !