टीआरसी विधेयक: कार्यदलको प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाइयो
काठमाडौँ। संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।
बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझाइएको हो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलमा गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मा रहेका थिए ।
विधेयकमा छलफल गर्न बाँकी रहेको विषयमा छलफल गरी टुंग्याइएको संयोजक समेत रहेका लेखकले जानकारी दिए । उनले ६ वटा बैठकमा औपचारिक छलफल गरिएको बताए ।
संसद्को समितिमा विचाराधीन विधेयकमा छलफल गर्न बाँकी रहेको चार विषयमा सहमति खोजिएको उनले जानकारी दिए । संक्रमणकालीन न्यायका विषयमा उनले ब्रेक थ्रु भएको पनि बताए । शान्ति प्रक्रियालाई टुंग्याउन सकिने चरणमा पुगिएको उनको भनाइ छ ।