नेपाललाई शान्ति चाहिएको छ, द्वन्द्वमा फस्न दिँदैनौँः प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताएका छन् । बुधबार टीआरसी विधेयक सहमति जुटाउन बनेको कार्यदलको प्रतिवेदन बुझ्दै उनले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताएका हुन् ।
“नेपाललाई शान्ति चाहिएको छ र कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् । त्यसमा हामी सजग छौँ । द्वन्द्वमा नेपाललाई फस्न दिनु हुँदैन”, उनले भने ।
प्रधानमन्त्री ओलीले विधिको शासनभन्दा पर जान नसक्ने पनि बताए । उनले डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण बाटो अवरुद्ध हुँदा र लोकतान्त्रिक माध्यमबाट परिवर्तन र अग्रगमन सम्भव नहुँदा जनताले परिवर्तनका लागि आन्दोलन गर्दै आए पनि अहिले लोकतान्त्रिक बाटो खुला रहेको बताए । लोकतान्त्रिक बाटो खुला हुँदा पनि गरिने क्रियाकलाप स्वीकार्य नहुने उनले चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रका लागि सचेत रहेको बताए । उनले संवैधानिक कानुनी प्रावधानअनुसार सरकार नचले लोकतान्त्रिक नहुने बताए । संघीयताको प्रभावकारी कार्यान्वयन भएका कमी हटाएर प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्ने उनको भनाइ छ ।








