३० भाद्र २०८१, आइतबार

बाँदर नियन्त्रणका उपायहरु अध्ययन गरी एक महिनाभित्र समितिमा पेश गर्न कृषि समितिको निर्देशन

प्रकाशित मिति :  8 August, 2024 7:36 am


काठमाडौँ। बाँदर नियन्त्रणको लागि अल्पकाल र दीर्घकालीन उपायहरुका विषयमा अध्ययन गरी समस्या समाधानहरुका उपायहरु एक महिनाभित्र समितिमा पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन तथा वातावरण मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

समिति उपसचिव शिवदत्त बरालले बाँदरको कारणले गर्दा मुख्य गरी ग्रामिण क्षेत्रमा बसोवास गर्ने कृषकहरु आक्रान्त भएको बताए।

बाँदर नियन्त्रण गरी किसानलाई कसरी राहत दिन सकिन्छ भन्नेबारे अल्पकाल र दीर्घकालमा गर्नुपर्ने विषयमा आवश्यक अध्ययन गरी समस्या समाधानमा रहेका जटिलताहरुलाई एक महिनाभित्र समितिमा पेश गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताए।

उनले वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी किसानको खेतीबाली नष्ट गर्ने र मानिसहरुलाई आक्रमण गरी ज्यान लिने र घाइते बनाउने गरेकाले यसको आवश्यक नियन्त्रण गरी जङ्गली जनावरलाई मानव बस्तीमा प्रवेश गर्ने कार्यको नियन्त्रण गर्ने आवश्यक सुरक्षा शतर्कता अपनाउने र आवश्यक स्थानमा विद्युतीय तारबार र घेरा लगाई क्षतिको न्युनिकरण गर्ने कार्य गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि जनाए।

उनले जङगली जनावर बाँदर,बँदेल ,दुम्सी र निलगाई लगायत किसानहरुको क्षतिबाली नष्ट गरेकोमा यसको उचित मूल्याङ्कन गरी सहज रुपमा क्षतिपूर्तिको उपलब्ध गराउने व्यवस्था अवलम्वन गर्न कृषि तथा पशुपंक्ष र वन तथा वातावरण मन्त्रालयले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिए।

बाघको गणना गरी बासस्थानको अध्ययन गरी दीर्घकालिन निर्णय लिएर बाघ नियन्त्रणमा आवश्यक पहल गर्न निर्देशन दिएको बरालले जनाए।

—न्युज एजेन्सी नेपाल

उपसचिव शिवदत्त बराल



प्रतिक्रिया दिनुहोस !