कानुन, न्याय तथा मानवअधिकार समितिमा टीआरसी विधेयक सर्वसम्मत पारित
काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक सर्वसम्मत पारित भएको छ ।
समितिको बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो ।
प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् । साथै उनले प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिइन् ।
सरकारले २०७९ फागुन २५ गते संसद सचिवालयमा दर्ता गराएको विधेयक त्यही वर्षको चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो।
प्रतिनिधि सभाले २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाएको थियो । समितिमा धेरै छलफल भए पनि चारवटा मुख्य बुँदामा विवाद रहेको थियो। उक्त विवाद समाधान गर्न शीर्ष तहमा भएको छलफललाई विधेयकको भाषामा तयार गर्न कांग्रेस नेता रमेश लेखकको नेतृत्वमा कार्यदल बनाइएको थियो। कार्यदलले हिजो तीन शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । सोही प्रतिवेदनका आधारमा संसदीय समितिले विधेयकसम्बन्धी प्रतिवेदन तयार गरेको हो।