३० भाद्र २०८१, आइतबार

सभामुख घिमिरे सरकारको निर्देशनमा चलेको रास्वपा सांसदहरूको आरोप

प्रकाशित मिति :  13 August, 2024 6:38 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सभामुख देवराज घिमिरेलाई सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् ।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सभामुख घिमिरेले सरकारको निर्देशनमा आफूहरुको आवाज दबाउन लागेको आरोप लगाएका हुन् ।

बैठकको आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालले विद्युत प्राधिकरणले उठाउनुपर्ने बक्यौता रकमका बारेमा बोल्दैगर्दा सभामुख घिमिरेले विषयकेन्द्रित नभएको भन्दै बोल्न रोक लगाएका थिए ।

त्यसपछि रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) समेतका सांसदहरूले बैठक अवरोध गरेपछि सभामुखले सांसद ढकाललाई बाँकी कुरा राख्न दिएका थिए । यसै प्रकरणलाई लिएर रास्वपा सांसदहरूले सभामुखको भुमिकाप्रति आशंका व्यक्त गरेका हुन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रास्वपाका सांसद हरि ढकालले भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक विषय भएको बताए । उनले आफूले विद्युतको वक्यौता महशुल उठाउनुपर्छ भन्न लाग्दालाग्दै सभामुखले माइकको लाइन काट्नुभएको भन्दै संसदमा महशुल उठाउनुपर्छ भन्न नपाइने हो भनि प्रश्न गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सरकारले दिएको निर्देशन लागू गर्न लागेको आरोप लगाए ।उनले आफूहरूलाई दुई तिहाइको सरकारले दम्भ देखाउने कोशिस गरेको भान भएको बताए ।

उनले सभामुखले आफ्नो पदीय मर्यादा र सांसदहरूको अधिकारको समेत ख्याल नगरी सांसदलाई बोल्न नदिइएको बताए । उनले जनप्रतिनिधिबाट संसदमा मुखरित हुने जनताको आवाज दबाउन खोजिएको भन्दै रास्वपाको संसदमा उपस्थित हुन्जेलसम्म आवाज नदब्ने बताए ।



प्रतिक्रिया दिनुहोस !