२३ भाद्र २०८१, आइतबार
आँधीखोला वाइन

चर्चामा स्याङ्जाको पहिलो वाइन ‘आँधीखोला’, मंसिरबाट ‘व्यापक विस्तार’ को योजनामा उत्पादक कम्पनी

प्रकाशित मिति :  18 August, 2024 5:02 pm


काठमाडौँ। स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ करेन्डाँडामा वाइन उत्पादन सुरू गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला सुपरजोन स्याङ्जाको सहयोगमा सुन्तला प्रशोधन घर प्रा.लिले वाइन उत्पादन सुरू गरेकाे हाे । उक्त वाइनलाई ‘आँधीखोला’ नाम दिइएको छ । हाल परीक्षणका रूपमा उत्पादन सुरू गरिएको वाइन आउँदाे मंसिरसम्म बजारमा पठाउने तरिकाले उत्पादन सुरू गर्ने सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष बाेधराज अर्यालले बताए ।

के हुँदै छ अहिले ?

स्याङ्जा जिल्ला सुन्तलाको प्रख्यात जिल्ला हो । सुन्तलालाई कच्चा पदार्थको रूपमा प्रयोग गरी वाइन उत्पादन सुरू गरिएको उनले बताए । उनले भने,”सुन्तला सुपर जोनको सहयोगमा वाइनको सफल परीक्षण पछि बजारमा ल्याएको छ । उत्पादनको तयारी भएको र ट्रेड मार्क लिएकाे छाैँ। केही समयपछि आधिकारीक रूपमा उत्पादन सुरू गर्ने तयारीमा छाैँ”।

उनले आउँदो मंसिरबाट बजारकाे माग अनुसार आधिकारीक रूपमा उत्पादन गरिने बताए । अध्यक्ष अर्यालले सुन्तलाकाे सिजनमा मात्रा यसकाे उत्पादन नगर्ने बताउँदै सुन्तलालाई लामाे समय राख्नकाे लागि कोल्ड स्टोरकाे समेत व्यवस्था गर्ने याेजना बनाएकाे बताए । उनले भने,“केही वर्षअघि काेल्ड स्टाेरमा सुन्तला राख्दा कुहिएर फाल्नु पर्ने अवस्था आएकाे थियाे त्याे अवस्था हुन नदिन हामीले केही पूर्वतयारी अवस्य गर्ने छौँ ।”

के छ मापदण्ड ?

उद्योग विभागको वाइन तथा साइडर उत्पादन मापदण्ड अनुसार वाइन तथा साइडर उत्पादन गर्ने उद्योग ऐतिहासिक महत्वका मठ मन्दिर, राष्ट्रिय निकुञ्ज तथा नेपाल सरकारले मदिरा उद्योग स्थापन गर्न नपाइने भनि तोकेको क्षेत्रभन्दा ५०० मिटर टाढा हुनु पर्नेछ । साथै उद्योग स्थापना गर्ने सम्बन्धमा सञ्चालन रहेका सामुदायिक अस्पताल तथा सामुदायिक विद्यालय क्षेत्रको हकमा भने कम्तिमा १०० मिटर टाढा हुनुपर्ने उद्योग विभागले जनाएकाे छ ।

त्यस्तै वाइन उत्पादन गर्न अनुमति प्राप्त भएको मितिले दुई वर्ष भित्र उद्योगको निर्माण कार्य सम्पन्र गरी व्यवसायिक उत्पादन गरि सक्नुपर्ने र आफैँले फलफूल (जडिबुटी, फुल समेत) खेति गरी आफ्नै न्यूनतम ५० प्रतिशतसम्म फलफूल जडिबुटि, फुल समेत उत्पादनबाट वाइन उत्पादन गर्ने उद्योगको सम्बन्धमा भने अनुमति प्राप्त भएको मितिले चार वर्षभित्र उद्योगको निर्माण कार्य सम्पन्न गरी व्यवसायिक उत्पादन गरी सक्नुपर्ने व्यवस्था रहेकाे छ ।

सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष अर्यालले आफूहरू सरकारको नीति नियममा रहेर वाइन उत्पादनको सुरुवात गर्न खोजेको दाबी गरे । उनले भने,“भवन निर्माणदेखि औजार जोडान पनि सरकारको नीतिमा रहेर गरेका छौँ । उत्पादनको अनुमति लिएको र आउँदो मंसिरबाट बजारमा पठाउने तरिकाले यसकाे उत्पादन गर्ने तयरीमा छाैँ ।”

उनले कानुनी रूपमा गएपछि सुरुवातमा थोरै उत्पादन गरिने र बजार माग अनुसार ठूलोमात्रामा उत्पादन गर्ने योजना रहेको बताए ।

कति सुन्तला उत्पादन ?

नेपालको मध्यपहाडी क्षेत्रमा, समुद्री सतहभन्दा ८०० देखि २४०० मिटरसम्मको उचाइमा हुने सुन्तला खेतीले देशको कुल कृषि उत्पादनमा ०.८५ प्रतिशत योगदान पुर्‍याउँछ । स्याङ्जाका किसानका लागि यो प्रमुख नगदे बाली हो  । तर किसानमा यसकाे खेतीसम्बन्धी प्राप्त मात्रामा जानकारी नहुँदा यसकाे उत्पादनमा प्रत्येक वर्ष उतारचढाव आउने गरेकाे छ ।

साेही अनुरूप २०७९ सालमा २२ हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदा एक अर्ब १४ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसैगरि २०८० सालमा १७ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकाे थियाे । जुन अघिल्लो वर्षको तुलनामा २०८०मा सुन्तला उत्पादनमा करिब २५ प्रतिशत कम भएकाे सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष अर्यालले जानकारी दिए ।

जिल्लाभर २२ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । ती मध्ये एक हजार तीन सय हेक्टर उत्पादनशील बगैँचा छन् भने तीन हजार पाँच सय जना सुन्तला व्यावसायिक किसान जिल्लामा रहेका छन् ।

जिल्लाभरका १२ हजार धरधुरी सुन्तला किसानका तीन हजारभन्दा बढी साना ठुला सुन्तलाका बगैँचा छन् । स्याङ्जाका ६/७ वडा बाहेक जिल्लाभर सुन्तला खेती राम्रो हुन्छ । सुन्तलाका लागि उपयुक्त भूगोल रहेको स्याङ्जामा प्रधानमन्त्री सुन्तला सुपरजोन कार्यक्रमले पनि उत्पादन बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिका र अर्जुन गाउँपालिकाका १७ वटा वडालाई समेटेर सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा छ । कार्यक्रम सञ्चालनपछि सहकारी, समूह र निजी फार्म दर्ता गरी सुन्तला खेती गर्न किसानको सङ्ख्या बढेको सुपरजोन कार्यालय प्रमुख लम्सालको भनाइ छ ।

पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिकासहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास गाउँपालिकाका सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । चापाकोट नगरपालिका बाहेक जिल्लाका सबै पालिकामा सुन्तलाको खेती गरिँदै आएको छ ।

कात्तिकको अन्तिम सातादेखि खान थालेको सुन्तला फागुनको पहिलोसातासम्म रहन्छ । सुन्तला बिरुवा रोपेको ५ देखि ७ वर्षभित्रमा फल दिने हुँदा सुन्तला खेतीप्रति किसानको आकर्षण बढ्दो छ । त्यसमा पनि सुपरजोन र जिल्ला कृषि ज्ञान केन्द्रको पनि सहयोग राम्रो रहेको छ ।



प्रतिक्रिया दिनुहोस !