३१ भाद्र २०८१, सोमबार

सरकारले लगानीको वातावरण निर्माण गर्छ, ढुक्क भएर लगानी गर्नुहोस्ः मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  25 August, 2024 11:38 am


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि सरकारले लगानीको वातावरण निर्माण गर्ने बताएका छन् ।

एनआरएन एनसीसी अमिरिकाले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको विकासको आधार, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र रहेको बताउँदै स्वदेशी तथा विदेशी दातृ निकायहरूलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

उनले भने,”यहाँहरूले ढुक्क भएर कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ लगायतका क्षेत्रको विकासको लागि लगानी गर्न सक्नुहुन्छ । लुम्बिनी प्रदेश पर्यटनको दृष्टिकोणले उर्वर र महत्त्वपूर्ण छ । लुम्बिनी सर्किट संगै यहाँको हिमाल, पहाड, तराई अनि राष्ट्रिय निकुञ्जले पर्यटकहरूलाई आकर्षित गर्दछ ।”

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न संघीय सरकार सँग पहल गरिएको र त्यसको नतिजा केही दिन भित्र प्राप्त हुने जानकारी दिए ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूकाे भरपुर मात्रामा प्रचारप्रसार हुन नसकेको, वर्तमान सरकारले प्रचारप्रसारको मोडेलमा परिवर्तन गरेर विश्व सामु पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

देवदह नगरपालिकाका नगर प्रमुख ध्रुबप्रसाद खरेलले लुम्बिनी सर्किटलाई विश्व बजारमा प्रचारप्रसार गर्न नसकिएको बताए।”देवदह सांस्कृतिक र सम्पदाको हिसाबले महत्त्वपूर्ण हो । तर, यसलाई विश्व बजारमा चिनाउन सकेका छैनौं । सांस्कृतिक र ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !