१ आश्विन २०८१, मंगलबार

रोल्पामा ४ जनामा हैजा पुष्टि,संघीय संसदमा सांसद घर्तीले भनिन्,‘रिपोर्ट आउनै एक हप्ता लाग्यो’

प्रकाशित मिति :  29 August, 2024 1:48 pm


काठमाडौँ । रोल्पामा ४ जनामा हैजा पुष्टि भएको छ । रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा पुष्टि भएको हो । जसमा ३ जना एकै परिवारका छन् ।

रोल्पामा हैजा पुष्टि भएको भन्दै सांसद इश्वरी घर्तीले संघीय संसदमा सरकारको ध्यानकर्षण गराएकी छन् ।

शून्य समयमा बाेल्दै सांसद घर्तीले हैजाको रिपोर्ट समेत एकहप्तापछि मात्रै प्राप्त भएको भन्दै आपत्ति समेत जनाइन् ।

उनले भनिन्,“बिरामीमा हैजाको लक्षण देखिएपछि रोल्पा अस्पतालले लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा परीक्षणका लागि स्टुल पठाएको १ हप्तापछि हैजा पुष्टि भएको हो । सो रिपोर्ट आउदा बिरामी निको भएर घर गइसकेका थिए । अहिले जिल्लामा त्रास बढेको छ ।”

उनले पहाडी जिल्लामा हैजाको रिपोर्ट तत्काल प्राप्त हुने व्यवस्था गर्न समेत माग गरेकी छन् ।

सांसद घर्तीले रोल्पा प्युठान लगायत विभिन्न जिल्लाका धेरैजनामा हैजा पुष्टि भैसकेकाले समयमै व्यापक जनशक्ति सहितको जनचेतनामूलक अभियान चलाएर रोक्न नसकिए यसले महामारीको रुप लिनसक्ने भन्दै सचेत गराएकी छन् ।

हैजा नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !