१ आश्विन २०८१, मंगलबार

गैरसंवैधानिक रूपमा न्यायाधीशहरूको नियुक्ति गर्न लागेको भन्दै बार एशोसिएसनको धर्ना

प्रकाशित मिति :  1 September, 2024 2:05 pm


काठमाडाैँ ।न्याय परिषद्ले गैरसंवैधानिक रूपमा न्यायाधीशहरूको नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एशोसिएसनले न्याय परिषद् सचिवालयमा धर्ना दिएको छ ।

आइतवार न्याय परिषद्को बैठक बसेर गैरसंवैधानिक रूपमा न्यायाधीशहरूको नियुक्ति गर्न लागिएको भन्दै नेपाल बार एशोसिएसनले बिरोध जनाएको छ । न्याय परिषद्ले गैरसंवैधानिक रूपमा न्याय परिषद् नियमावली संशोधन गरेर विगत एक वर्षदेखि सोही नियमावलीमार्फत न्यायाधीश नियुक्त गरिरहेको भन्दै एशोसिएसनले धर्ना दिएको हो ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले नियमावली संशोधन गरी न्यायाधीशहरुलाई दुईवटा वर्गमा विभाजन गरेको बताए । उनले मर्यादाक्रमलाई फरक पर्नेगरी कुनै कानून बनाइने छैन भन्ने संविधानको धारा १४१ को उपधारा(३)को व्यवस्थाको बर्खिलाप हुनेगरी न्यायपरिषद्ले नियमावली जारी गरेको भन्दै नियमावली अनुरुप न्यायाधीश नियुक्त हुँदा गैरसंवैधानिक हुने बताए ।

उनले आफुहरूले पटक–पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि न्याय परिषद्ले नसुनेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । बार एशोसिएसनले गैरसंवैधानिक काम तत्काल रोक्न न्याय परिषद्सँग माग गरेको छ । अध्यक्ष घिमिरेले गैरसंवैधानिक नियमावली खारेज नभएसम्म न्यायाधीश नियुक्ति गर्न नदिने बताए ।

अध्यक्ष घिमिरेले न्याय परिषद् सचिवालयभन्दा बाहिरी ठाउँमा गएर न्याय परिषद्को बैठक गरेमा त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिए ।



प्रतिक्रिया दिनुहोस !