१ आश्विन २०८१, मंगलबार

पाँच संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  4 September, 2024 7:41 am


काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज पाँच संसदीय समितिका बैठक बस्दै छन् ।

संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

आज बिहान ११ बजे सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै बिहान ११ बजेनै संसदीय सुनुवाइ समितिको बैठक बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ ।

बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।

यसैगरी, दिउँसो २ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने सूची रहेको छ ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा समितिको आर्थिक वर्ष २०८०–८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल सङ्घीय संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !