१ आश्विन २०८१, मंगलबार

भड्किलो तीजलाई निरुत्साहित गर्ने जिम्मेवारी सबैको हो:मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  4 September, 2024 4:33 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली मौलिक कला संस्कृतिमा भित्रिन थालेको विकृति र विसंगतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका, देउखुरीमा तीज पर्वको अवसरमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले नेपाली चाडपर्वहरूमा पछिल्लो समय विकृति र विसंगति फैलिन थालेकोमा चिन्ता व्यक्त गरे ।

तीज पर्वजस्तो नेपाली समाजमा गहिरो सांस्कृतिक महत्व राख्ने चाडमा देखापर्न थालेको भड्किलोपन र अनावश्यक तामझामले यस पर्वको मौलिकता र सांस्कृतिक सम्पदामा आघात पु¥याउने खतरा रहेको आचार्यले बताए । तीजलाई मौलिक संस्कार र परम्पराको रूपमा जगेर्ना गर्दै भड्किलो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।

उनले तीज पर्वलाई मूलधारको संस्कृतिबाट विचलन गर्ने र यसको मौलिकतालाई ह्रास गराउने कुनै पनि गतिविधिलाई रोक्न सबै नेपालीको कर्तव्य भएको बताए । “तीजलाई भड्किलो बनाउन खोजिएको छ। विकृतिले घेर्न थालेको छ”, उनले भने, “भड्किलो तीजलाई निरुत्साहित गर्ने जिम्मेवारी हामी सबैको हो । यसतर्फ गम्भीर ध्यान दिन आवश्यक छ ।”

मुख्यमन्त्री आचार्यले तीज पर्वको ऐतिहासिक र सांस्कृतिक महत्वको चर्चा गर्दै, यस पर्वले नेपाली महिलाहरूबीच आपसी भाइचारा, प्रेम, र सद्भाव बढाउने अवसर प्रदान गरेको उल्लेख गरे । उनले भने, “तीज हाम्रो संस्कृति र परम्पराको अभिन्न अंग हो, यसको संरक्षण र प्रवर्द्धन हाम्रो प्राथमिकता हुनुपर्छ । हामी सबैले यस पर्वलाई भड्किलो र विकृतिपूर्ण बनाउने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्नुपर्छ ।”

शुभकामना आदानप्रदान कार्यक्रममा लुम्बिनी प्रदेशका कायम मुकायम प्रमुख सचिव महादेव पन्थ, मन्त्रालयका सचिवलगायतका कर्मचारीहरूको पनि उपस्थिति थियो । कार्यक्रममा सहभागी सबैले तीज पर्वलाई सभ्य र मर्यादित रूपमा मनाउन प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले हरितालिका तीजको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको जानकारी पनि गराए ।

तीज पर्वको अवसरमा मुख्यमन्त्री आचार्यको यस्तो वक्तव्यले नेपाली समाजमा मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि सबै नागरिकलाई सचेत गराउने विश्वास व्यक्त गरिएको छ । साथै, उनले तीज पर्वलाई मौलिक र सभ्य रूपमा मनाउन आह्वान गर्दै भड्किलो प्रवृत्तिलाई निरुत्साहित गर्ने प्रयासमा प्रदेश सरकार पूर्णरूपले प्रतिबद्ध रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !