१ आश्विन २०८१, मंगलबार

मुलुकमै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गोरखा स्कुलले गर्यो सम्मान

प्रकाशित मिति :  4 September, 2024 5:33 pm


दाङ । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराहीले कक्षा १२ मा मुलुककै सर्वोत्कृष्ट नतिजा ल्याएका उत्सव घिमिरेलाई सम्मान गरेको छ । गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्तीको अध्यक्षता र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थी घिमिरेलाई सम्मान गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ३.९६ जीपीए प्राप्त गरेका घिमिरे, उनका अभिभावक उत्तमराज घिमिरे र हिन्दू घिमिरेलाई फूलमाला, खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डिसीले उत्कृष्ट नतिजा हासिल गर्न सफल घिमिरेलाई बधाइ दिँदै सुखद् भविष्यको कामना गरिन् । विद्यार्थीहरूको लगन र मिहिनेतलाई कदर गर्दै उनीहरूलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गर्नु विद्यालयको सकारात्मक कार्य भएको बताइन् ।

उपप्रमुख डिसीले गोरखा स्कूलले शैक्षिक क्षेत्रमा महत्वपूर्ण सफलता हात पारेको भन्दै डिसीले स्कूलले सुरु गरेको नैतीक र संस्कारमा आधारित शिक्षा अभियानको प्रशंसा गरिन् । गोरखा ग्रुपका अध्यक्ष घर्तीले विद्यार्थी, शिक्षक र अभिभावक सबैको सामूहिक प्रयासबाट स्कूलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । स्कूलले शिक्षालाई केवल शैक्षिक प्रमाणपत्रसँग मात्रै नभई संस्कार, सीप र जीवनोपयोगी ज्ञानसँग पनि जोडेको बताए ।

स्कूलका प्राचार्य मानसिंह जीएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक एच. एन. पाण्डेले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !