३१ भाद्र २०८१, सोमबार

लोकतन्त्रलाई सुदृढ बनाउन बलियो शक्तिको आवश्यकता छ: महासचिव पोखरेल

देश श्रीलंका र बंगलादेशको बाटोतर्फ जाँदै छ भन्ने प्रचण्डको अभिव्यक्ति खेदजनक छ
प्रकाशित मिति :  5 September, 2024 1:49 pm


सुर्खेत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई सुदृढ बनाउन बलियो शक्तिको आवश्यकता रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार (आज) सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, “लोकतन्त्र सुदृढ र बलियो नहुँदा परिवर्तन बिरोधी गतिविधि बढ्न थालेका छन् । जबसम्म लोकतन्त्र बलियो र सुदृढ बन्दैन, तबसम्म यस खालका गतिविधि चलिरहन्छन् । लोकतन्त्रलाई सुदृढ बनाउन बलियो शक्तिको आवश्यकता पर्दछ ।”

एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्तिका रुपमा स्थापित गराएर छोड्ने ठोकुवा गर्दै महासचिव पोखरेलले २०८४ को निर्वाचनबाट एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताए ।

सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै पोखरेलले आपत्ति जनाए । “माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ” उनले भने, “प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन । यो लोकतान्त्रिक हुन सक्दैन ।”

आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताउँदै पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने प्रतिक्रिया दिए । तर, कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको उनले स्पष्ट पारे । “मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन । मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ”, महासचिव पोखरेलले थपे, “नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।”

फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए । कांग्रेसको औपचारिक निर्णय र यो समीकरण उहाँहरुकै मिहिनेतको परिणाम भएको भन्दै पोखरेलले महामन्त्रीको सहमतिविपरीत पार्टीको त्यो निर्णय हुन नसक्ने जिकिर गरे ।

युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको बताउँदै पोखरेलले त्यसका लागि सबै तहका सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्ने बताए ।

एमाले–कांग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुन थालेको दाबी दाबी गर्दै पोखरेलले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको उल्लेख गरे ।

काठमाडौँका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको टकरावलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताए । बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको भनाइ थियो ।

नेकपा (एमाले) कर्णाली प्रदेशको सचिवालय बैठकलाई सम्वोधन गर्न सुर्खेत पुगेका महासचिव पोखरेल आजै काठमाडौं फर्कने कार्यक्रम रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजग शाहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !