रवि लामिछानेले प्रभावको दुरुपयोग गरे: महासचिव पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भ्रष्टाचारीको संज्ञा दिएका छन् ।
प्रेस चौतारी नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, “सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको प्रमाणित हुन्छ । बिना लगानी शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन । यसरी बिना लगानी शेयर प्राप्त गर्नु भनेको स्पष्ट रूपमा भ्रष्टाचार गर्नु हो ।”
गोरखा मिडिया प्रालिमा बिना लगानी १५ प्रतिशत शेयर प्राप्त गरेको लामिछानेले स्विकार गरेको तर्क गर्दै महासचिव पोखरेलले साझेदारमा रहेका व्यक्तिहरु दोषी हुँदा उनी दोषरहित हुन नसक्ने दाबी गरे । प्रभाव दुरुपोग गर्ने अधिकार कसैलाई नभएको बताउँदै महासचिव पोखरेलले आफूले क्लिन चिट पाइसकेको दाबी गर्दै रवि लामिछानेले भिडको प्रभावको दुरुपयोग गरिरहेको बताए ।
“रवि लामिछानेले प्रभावको दुरुपोग गरे । भिडको आडमा आफू दोषरहित भएको भ्रम फैलाए । प्रभाव दुरुपयोग गर्ने अधिकार कसैलाई छैन”, महासचिव पोखरेलले भने, “समितिको प्रतिवेदन बिपरीत आफूले क्लिन चिट पाइसकेको दाबी गर्दै रवि लामिछाने हिड्नुले उनी भिड आडमा आफू उम्कन खोजेको प्रमाणित हुन्छ ।”
सहकारीको शेयर सदस्य नभएका व्यक्तिलाई सहकारीले लगानी गर्नु गैरकानुनी रहेको भन्दै लामिछानेले गोरखा मिडिया प्रालिमा सहकारीको पैँसा हालेर अनुचित काम गरेको दाबी गरे । महासचिव पोखरेलले भने, “सहकारीले आफ्नो शेयर सदस्य नभएका व्यक्तिलाई लगानी गर्नु कानुनी दृष्टिकोणले गलत हो । रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैँसा हालेर अनैतिक र गैरकानुनी काम गरेका छन् ।”
प्रतिपक्षी दलले संसदिय मूल्यमान्यता माथि खिल्ली उडाएको भन्दै महासचिव पोखरेलले अस्थिरता सिर्जना गर्ने अधिकार कसैलाई नभएको बताए । गठबन्धनमा कुनै समस्या नभएको बताउँदै महासचिव पोखरेलले लोकतन्त्रलाई कमजोर बनाउने खेल सुरु भएको बताए । समीकरण मन नपर्नेहरुले संसदभित्रै विकल्प खोज्नुपर्ने भन्दै महासचिव पोखरेलले प्रतिपक्षी दलका प्रमुख नै वर्तमान सरकारप्रति आक्रोश जनाउँदै सडक आन्दोलनमा आधारित भ्रम फैलाउन लाग्नु गलत भएको बताए ।








