२ जेष्ठ २०८१, बुधबार

रोल्पामा कार्यपालिका बैठकमै गाँउपालिका अध्यक्ष र वडाअध्यक्षबीच कुटाकुट, वडाध्यक्षद्धारा प्रहरीमा जाहेरी

प्रकाशित मिति :  23 May, 2020 8:06 am


रोल्पा,१० जेठ ।

रोल्पाको सुनिल स्मृति गाँउपालिका अध्यक्ष गुनेन्द्र घर्तीबाट आफूमाथी कुटपिट भएको आरोप लगाउँदै वडा नम्बर—४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले इलाका प्रहरी कार्यालय सुलीचौरमा उजुरी दिएका छन् ।

बैंक सञ्चालन गर्ने समयका विषयमा विवाद भएपछि कार्यपालिका बैठकमै अध्यक्ष घर्तीले आफूमाथी हात हालेको क्षेत्रीले बताएका छन् ।

वडाअध्यक्ष क्षेत्रीले इलाका प्रहरी कार्यालय सुलीचौरमा दिएको उजुरीमा भनिएको छ,‘सुनिल स्मृति गाँउपालिकाको अध्यक्ष गुनेन्द्र घर्तीमगरले एक्कासी आवेशमा आई आफ्नो पदीय मर्यादा बिर्सेर आफ्नो ठाँउबाट उठी म पीडित बसेको ठाउँमा आई सिंगो गाँउपालिकाको बेईज्जत गरेर सम्पूर्ण कार्यपालिकाका सदस्यहरुकै अगाडि वडाध्यक्षहरु र सम्पूर्ण गाँउपालिकाको शिर झुक्ने गरि विभिन्न अपशब्द बोली हातपात गरि चोटपटक लगाउने जस्तो कुकार्य गरेकाले निज गुनेन्द्र घर्तीमगरलाई पक्राउ गरि कारबाही गर्नुका साथै न्याय दिईदिनुहुन अनुरोध गर्दछु ।’

वडाअध्यक्ष क्षेत्रीले गाँउपालिकाका अध्यक्ष घर्तीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सुलिचौरमा दिएको जाहेरी

सुनिल स्मृति गाँउपालिका—४ ले सुलिचौर बजारमा रहेका बैंक सोमबार र बिहिबार खोल्ने निर्णय गरेको थियो । तर, कार्यपालिका बैठकमा वडाको निर्णय मान्य नहुँने भन्दै गाँउपालिका अध्यक्ष घर्तीले अनावश्यक विवाद झिकेको वडाअध्यक्ष क्षेत्रीको दाबी छ ।

वडा अध्यक्ष क्षेत्रीले भने,‘ वडाको निर्णय नमान्ने हो भने ठिक छ ३ दिन सञ्चालन गरौं न त भन्ने मेरो प्रस्ताव थियो र छलफल हुँदै थियो उहाँले एक्कासी उठेर ममाथी नै हातपात गर्नुभयो हामीले पनि प्रतिवाद ग¥यौं ।’ विवाद भएपछि वडा नम्बर—४ ले कार्यपालिका बैठक बहिस्कार गरेको वडा अध्यक्ष क्षेत्रीको भनाई छ ।

बैठकमा कुटाकुट भएको विषयलाई लिएर कांग्रेस रोल्पाले समेत विज्ञप्ति जारी गरेको छ । कांग्रेसले वडाअध्यक्ष क्षेत्रीमाथी एक्कासी हातपात भएको भन्दै आपत्ति जनाएको छ ।

जिल्ला सभापति अमरसिंह पुनमगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ कार्यपालिकाको बैठकमा कोरोना भाइरस विरुद्ध सुरक्षित हुँदै बैंकहरु व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुँदाहुँदै गाँउपालिका र वडा कार्यालयले निर्वाह गर्नुपर्ने जिम्मेवारी र खेल्नुपर्ने भूमिकाको बारेमा बहस हुँदै गर्दा गाँउपालिकाका अध्यक्ष घर्तीले वडा अध्यक्ष क्षेत्रीमाथी एक्कासी हातपात गर्नु अत्यन्त निकृष्ट र निन्दनीय कार्य भएको हाम्रो ठहर छ ।’ कांग्रेस रोल्पाले घर्तीमाथी कानून बमोजिम हदैसम्मको कारवाहीको माग गरेको छ ।

गाँउपालिका अध्यक्ष घर्तीलाई यसबारे बुझ्न खोज्दा फोन उठाएनन् । घर्ती तत्कालिन नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका हुन् भने वडा अध्यक्ष क्षेत्री कांग्रेसबाट विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस !