२६ आश्विन २०८१, शनिबार

न्युयोर्कमा परराष्ट्रमन्त्री राणा र अमेरिकी उपमन्त्री वासबिच भेटवार्ता

प्रकाशित मिति :  25 September, 2024 12:53 pm


काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेशमन्त्री जोन वासबीच भेटवार्ता भएको छ ।

न्युयोर्कमा भएको भेटमा उनीहरूबीच दुई देशबीच दशकौंदेखि रहँदै आएको सहकार्यलाई निरन्तरता दिने र सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्त्वपूर्ण भएको बताएकी थिइन् ।

नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उनीहरूबीच छलफल भएको थियो । नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबिच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रता जस्ता विषयमा साझा मूल्यमान्यता रहेको विषयमा कुराकानी भएको थियो ।

मन्त्री राणाले दुई देशबीच विगत वर्षमा हुँदै आएका विभिन्न तहको भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन प्रेरक भूमिका खेलेको बताइन् । उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकी सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिएकी थिइन् ।

मन्त्री राणाले अमेरिकी सहयोग नियोगले सन् २०२२ देखि २०२७ सम्ममा ६५ करोड ९० लाख अमेरिकी डलर नेपालको शिक्षाको गुणस्तर सुधारलगायत क्षेत्रमा खर्च गर्नेगरी प्याकेज कार्यक्रमसम्बन्धी गत वर्ष भएको सम्झौताको स्मरण गर्दै सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !