२२ मंसिर २०८१, शनिबार

समतामुलक समाज निर्माण गर्न पुरानो मान्यता त्यागौं: मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  27 September, 2024 12:07 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाज रुपान्तरण र सिमान्तकृत समुदायको सशक्तीकरणका लागि प्रदेश सरकारले प्रभावकारी भूमिका निभाउने बताएका छन् ।

दलित महिला संघ फेडोको आयोजनामा दाङको लमहीमा भएको दलित महिला सशक्तीकरण र समावेशीकरणको सवाल विषयक प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिमान्तकृत वर्गलाई राज्यको मुलधारमा ल्याउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका हुन् ।

“वर्गीय रुपमा कार्यक्रमलाई केन्द्रित गरिनुपर्छ”, उनले भने, “समाज रुपान्तरण, सामाजिक न्यायका लागि पुरानो मानसिकता ताग्नुपर्छ । दृष्टिकोणमा परिवर्तन आयो भने विभेद पनि उन्मुलन हुन्छ । सरकारले समाज रुपान्तरणका लागि जागरण अभियानमा हाम्रो साथ छ ।”

कार्यक्रममा समग्र विकासको अवरोध, जातीय तथा लैंगीक विभेद रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । संघका केन्द्रीय अध्यक्ष कला स्वर्णकारको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव रेणु सिजापतीले विभेद, उत्पीडन उन्मुलनका लागि संविधानको पूर्ण कार्यान्वयन जोड दिइन् ।

संघका संस्थापक अध्यक्ष दुर्गा सोवले दलित समुदायले अहिले पनि अन्यायपूर्ण जीवन बिताउन बाध्य हुनुपरेको बताउँदै मान्छे भएर बाँच्न पाउने अनुभूति दिलाउन सरकारलाई आग्रह गरे । उनले छुवाछूतको मानसिकता अझै हट्न नसकेको टिप्पणी गरे ।

नेपालको संविधान २०७२ ले दलित महिलाहरूको हक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण प्रावधानहरू राखेको छ । स्थानीय तहमा कम्तिमा एक जना दलित महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ । कार्यक्रमको सहजीकरण संघमा दाङ जिल्ला अध्यक्ष युवा कराराले गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !