२७ कार्तिक २०८१, मंगलबार

बजारमा गहुँको माग बढेपछि भारतबाट २ लाख मेट्रिक टन आयात गरिदैँ

प्रकाशित मिति :  17 October, 2024 4:57 pm


काठमाडाैँ । नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ ।

बजारमा गहुँको अभाव हुने देखिएपछि केहि मात्रामा मुल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल चालेको हो ।अहिलेलाई भारत सरकारसंग गहुँको आयातका बिषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादक लगायतका व्यवसायीहरूबाट गहुँको आपूर्ति गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालेको मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए। गहुँ आयातका लागि गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको उनले बताए ।

मैदा व्यवसायीहरूले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् । व्यवसायीहरूलाई चाडपर्वका बेला मुल्य नबढाउन मन्त्रालयको आग्रह छ । बजारमा कृतिम अभाव श्रृजना गरी मुल्यबृद्धि गरेको पाइएमा अनुगमन गरी कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

बजारमा गहुँको अभाव हुन थालेको र गहुँको मुल्यवृद्धि भएकाले मैदाको मुल्य बढाउन बाध्य भएतापनि चाडपर्वका बेला मुल्य स्थिर गर्न मैदा उत्पादक संघ सहमत भएको संघका उपाध्यक्ष दिनेश अग्रवालले बताए । व्यवसायीले नेपालमा गहुँ आपूर्ति गर्दा समस्या हुने गरेको भन्दै सरकारलाई सहज गरिदिन उनको आग्रह छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक संचय गरी कृतिम अभाव सृजना गर्ने, अनुचित नाफा लिने र सर्वसाधारण उपभोक्तालाई मर्का पार्ने विषय स्वीकार नहुने भएकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहन गर्न सरकारले अनुगमनलाई प्रभावकारी बनाउने र अनुगमनका क्रममा गलत क्रियाकलाप भएको पाइएमा कानुन वमोजिम कारवाही गरिने बताए ।



प्रतिक्रिया दिनुहोस !