२४ मंसिर २०८१, सोमबार

लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जाँदा कांग्रेसले कार्यवाहक मुख्यमन्त्री किन पाएन ?

प्रकाशित मिति :  10 November, 2024 11:12 am


दाङ । लुम्बिनी प्रदेशमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भूमिश्वर ढकालले पाएका छन् । सत्तासमीकरणअनुसार नेपाली कांग्रेसका मन्त्रीले कार्यवाहक पाउनुपर्ने भए पनि नेकपा एमालेकै भौतिक पूर्वाधार मन्त्री ढकाल नै कार्यवाहक मुख्यमन्त्रीको जिम्मा पाएका छन् । मुख्यमन्त्री आचार्यले ढकाललाई कार्यवाहक मुख्यमन्त्री दिएर चीन भ्रमणमा निस्किएका छन् ।

मुख्यमन्त्री आचार्यले कार्तिक २५ गतेदेखि लागु हुनेगरी लुम्बिनी प्रदेश सरकार कार्य सम्पादन नियमाली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवहाक मुख्यमन्त्रीको कार्यसम्पादन गर्नेगरी जिम्मेवारी तोकेका छन् ।

कांग्रेसले किन पाएन कार्यवाहक ?
लुम्बिनीमा अहिले नेकपा एमाले र नेपाली कांग्रेससहितको गठबन्धन सरकार छ । सत्ता समीकरण अनुसार मुख्यमन्त्री नेकपा एमालेका चेतनारायण आचार्य छन् । आचार्य मुख्यमन्त्री हुँदा दोस्रो बरियताका मन्त्री नेपाली कांग्रेसका मन्त्रीको हुनुपर्छ । कांग्रेसबाट सरकारको नेतृत्व गरेर जाने मन्त्री दोस्रो हैसियतमा र मुख्यमन्त्री बाहिर जाँदा कार्यवाहक मुख्यमन्त्री हुनुपर्ने समझदारी हुन्छ । लुम्बिनीमा भने फरक दृश्य देखिएको छ, अर्थात् एमालेबाट मुख्यमन्त्री भएका आचार्य बाहिर जाँदा कार्यवाहक एमालेकै ढकालले पाएका छन् ।

कसरी यस्तो भयो ?
वर्तमान सरकार बन्दा नेपाली कांग्रेसबाट सरकारको नेतृत्व बादशाह कुर्मीले गरेका थिए । कुर्मी मुख्यमन्त्रीपछिको बरियतामा कुर्मी थिए । अहिले कार्यवाहक बनेका ढकाल तेस्रो बरियतामा थिए । विवादमा तानिएपछि कुर्मीले राजीनामा दिए र कांग्रेसबाट सरकारको नेतृत्व गर्ने जिम्मा सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले पाए ।

सामान्यतया अहिले थापाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाउनुपर्ने हो । मन्त्री ढकाल अहिले पनि बरियताको हिसाबले दोस्रोमा छन् । मन्त्री थापाले ढकालनै वरिष्ठ भएकाले यसले कुनै फरक नपर्ने भन्दै आफू तेस्रो बरियतामै बसेका थिए । थापा निकट स्रोतका अनुसार पार्टीको दबाबकाबिच पनि उनले ढकाललाई सम्मान गर्ने भन्दै वरियतामा तेस्रो मन्त्रीका रुपमा बस्न तयार भएका थिए ।

मन्त्री थापा निकट स्रोतले भन्यो,“ मन्त्री ज्यूलाई पार्टीको दबाब त थियो तर उहाँले यसलाई ठुलो विषय मान्नु भएन ।” मन्त्री ढकालले आफू वरियतामा दोस्रो भएकाले कार्यवाहक मुख्यमन्त्री हुनु स्वाभाविक भएको बताए ।

सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन गएको छ । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबिच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षिय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । वि।सं। २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबिच भगेनी सम्वन्ध कायम गरिएको थियो ।

तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गर्नु भएको थियो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबिच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।



प्रतिक्रिया दिनुहोस !