२४ मंसिर २०८१, सोमबार

राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छः अध्यक्ष थापा

प्रकाशित मिति :  12 November, 2024 12:39 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुने बताएका छन् ।

आइतवार वीरगञ्जमा पार्टीको तराई—मधेस राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई आफूहरूले सँगै अघि बढाइरहेको बताएका हुन् । उनले अहिले देश संकट नै संकटको चक्रव्युहमा फसेको बताए । उनले तराई÷मधेस उत्थानको महत्वपूर्ण मुद्दाका रूपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु रहेको बताए ।

उनले विगत १८ वर्षदेखि अवलम्वन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्ने बताए । उनले सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्करको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त पहल गर्नुपर्ने बताए ।

अध्यक्ष थापाले भ्रष्टाचारको मुद्दामा छानबिन शुरु भएसँगै प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा उभिएर भ्रष्टाचारीलाई जोगाउने प्रयासमा लाग्ने गरेको आरोप लगाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठाउँमा मन्त्रीपरिषद्ले गरेका अनियमितता र भ्रष्टाचार छानविन गर्नसक्ने अधिकार सम्पन्न निकायका लागि संविधान संशेधन हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !