१२ श्रावण २०८१, शनिबार

प्रदेशसभामा मुख्यमन्त्री पोख्रेललाई कटाक्ष,‘महामारीमा खोज्दा यो सरकार कान्तिपुरको राजसिंहासन बचाउन उतै थियो’

प्रकाशित मिति :  27 May, 2020 3:29 pm


रुपन्देही, १४ जेठ ।

प्रदेश-५ को प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसदले कोरोना नियन्त्रणमा प्रदेश सरकार गम्भिर नबनेको आरोप लगाएका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथी छलफलमा भाग लिदै कांग्रेसका सांसद शंकर गिरीले सरकारको बेवास्थाका  कारण प्रदेश ५ मा कोरोनाको अहिलेको अवस्था देखिएको टिप्पणी गरे ।

उनले कोरोना नियन्त्रण गर्ने बेलामा प्रदेश सरकार काठमाण्डौंमा केन्द्र सरकारको कुर्सी बचाउन गएको आरोप लगाए । उनले भने,‘यो सरकारले आफ्नो नीति तथा कार्यक्रममा सरकार खोजिने,देखिने र भेटिने प्रमाणित गर्न सफल भएको छ भनिएको छ तर कोरोनाको महामारी बेला यो सरकार खोज्दा कतै भेटिएन । खोज्दै जाँदा कान्तिपुरको राजसिंहासन बचाउन उतै थियो । ’

काठमाण्डौंमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढ्दै गएपछि मुख्यमन्त्री शंकर पोखे्रल काठमाण्डौंमा आएका थिए । मुख्यमन्त्री पोख्रेल काठमाण्डौंमा भईरहँदा प्रदेश ५ मा कोरोना संक्रमण बढिरहेको थियो । सांसद गिरीले मुख्यमन्त्री पोख्रेललाई यसै विषयमा कटाक्ष गरेका हुन् ।

अहिले सरकारले समृद्ध र खुशीको कुरा गरेपनि कोरोनाका कारण जनता त्राहिमाम रहेको उल्लेख गरे । सांसद गिरीले अहिलेको अवस्था सरकारकै अर्कमण्यताका कारण आएको दाबी समेत गरे । यो विशेष परिस्थिति भएको भन्दै सांसद गिरीले भने,‘ समृद्धी कहाँ आउने ? कता आउने ? त्यसको सम्भावना कतै देखिदैन ?’ प्रदेश ५ सरकार लकडाउनको ५० दिनपछि मात्रै सकृय भएको सांसद गिरीको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस !