२४ मंसिर २०८१, सोमबार

रोल्पा नगरपालिकाले प्राप्त गर्‍यो उत्कृष्ट नगरपालिकाको उपाधि, नगरप्रमुख घर्ती बने ‘वास च्याम्पेइन मेयर’

प्रकाशित मिति :  26 November, 2024 4:17 pm


कपिलवस्तु । नेपाल नगरपालिका संघको आयोजनामा लुम्बिनी प्रदेशको कपिलवस्तुको चन्द्रौटामा सम्पन्न स्थानीय तह खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको सुशासन सुदृढीकरण कार्यक्रममा रोल्पा नगरपालिकाले उत्कृष्ट नगरपालिकाको उपाधि हात पारेको छ।

देशभरका नगरपालिकामध्ये रोल्पाले खानेपानी र स्वच्छता क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै नगरप्रमुख सूरेन्द्र थापा घर्तीलाई सम्मान प्रदान गरिएको हो। उत्कृष्ट कार्य सम्पादन गरेकोमा रोल्पा नगरप्रमुख घर्ती ‘वास च्याम्पेइन मेयर’ बनेका हुन् ।

देशभरबाट प्रमुख भएपछि प्रतिक्रिया दिँदै घर्तीले भने, “सीमित स्रोतसाधन भए तापनि पालिकाले इमानदारीतापूर्वक कार्यसम्पादन गरेकाले उपाधि जित्न सफल भएका हाैँ । नगरपालिका परिवारकाे कार्यकाे प्रशंसा गर्न चाहन्छु ।”

खानेपानी, सरसफाइ तथा स्वच्छता (खासस्व) सुशासनको स्तरिकरण विश्लेषण मापदण्ड अनुसार संस्थागत विकास र क्षमता अभिवृद्धि, खासस्व योजना, खानेपानी सरसफाइ तथा स्वच्छता सम्वन्धी ऐनहरु, संस्थाहरु खासस्व व्यवस्था लगायतका विषयमा उत्कृष्ट प्रस्तुति गरेकोमा रोल्पा नगरपालिका तथा मेयर घर्ती देशभरबाट उत्कृष्ट बनेका हुन्।

नगरपालिका संघका महासचिव नरूलाल चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्वच्छता र खानेपानी व्यवस्थापनमा नगरपालिकाहरूले थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले संघले आयोजना गरेको यो कार्यक्रम नगरहरूको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने उद्देश्यले गरिएको बताए ।

रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ती, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम र वास सम्पर्क व्यक्ति (फाेकल पर्सन) निशान आचार्यले नगरपालिकामा खानेपानी, सरसफाई र स्वच्छताका क्षेत्रमा गरेका प्रयासहरूबारे विस्तृत जानकारी दिएका थिए । उनीहरूले प्रस्तुति दिएका विषयहरूमाथि सहभागी अन्य नगर प्रमुख र उपप्रमुखहरूले अन्तरक्रिया गर्दै सिकाइ आदानप्रदान गरेका थिए।

कार्यक्रममा कानुनविद् काशीराज दाहालले फोहोर व्यवस्थापन, खानेपानीको उचित उपयोग र स्वच्छता कायम गर्न कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनबारे प्रस्तुति दिए ।

युनिसेफ, यूके-एड, खानेपानी तथा ढल व्यवस्थापन विभाग र लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयलगायतका सरोकारवाला निकायहरूको सहभागीता रहेको कार्यक्रममा दुई दर्जनभन्दा बढी नगर प्रमुख तथा उपप्रमुखले भाग लिएका थिए।

रोल्पा नगरपालिकाको सफलताले खानेपानी, सरसफाई र स्वच्छता क्षेत्रलाई थप प्रभावकारी बनाउने प्रयासमा अन्य नगरपालिकाहरूलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।



प्रतिक्रिया दिनुहोस !