२४ मंसिर २०८१, सोमबार

जलवायु परिवर्तन र विषादीले कर्णालीमा घट्यो परागसेचन

प्रकाशित मिति :  28 November, 2024 12:35 pm


काठमाडौं । कर्णाली प्रदेशमा परागसेचन घट्दै जाने समस्याले कृषिमा नकरात्मक प्रभाव पारेको सरोकारवालाहरूले बताएका छन्।

कर्णाली भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय र लिवर्ड को संयुक्त आयोजनामा परागसेचक परागसेचन माथिको राष्ट्रिय कार्यशाला गोष्ठिमा परागसेचनको महत्त्व नेपालको कृषि प्रणालीमा अत्यन्त ठूलो रहेको तर पछिल्लो समय घट्दै जाने समस्याले कृषिमा नकारात्मक असर पारेको सरोकारवालाहरूले बताएका हुन् ।

लिबर्डका कार्यकारी निर्देशक भरत भण्डारीले परागसेचकको घट्दो अवस्थामा गम्भीर चिन्ता व्यक्त गरे । उनले परागसेचकहरुको संरक्षण गर्नको लागि बनाईएका अन्तर्राष्ट्रिय सम्झौता स्मरण गर्दै यस कार्यशालाको मुख्य उद्देश्य परागसेचक र परागसेचनको महत्व उजागर गर्नु रहेको बताए ।

भण्डारीका अनुसार जलवायु परिवर्तन, सघन कृषि खेती, विषादीको अत्यधिक प्रयोग, र जंगल तथा घाँस मैदानको विनाशजस्ता कारणहरूले परागसेकमा गिरावट ल्याएको छ ।

वन मौरीहरूको संख्या पनि घट्दै गएको तथ्यलाई ध्यानमा राख्दै भण्डारीले परागसेचक व्यवस्थापनमा दिगो दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता रहेको बताए। यसका साथै, जलवायु परिवर्तन र वातावरणीय संकटलाई मध्यनजर गर्दै तात्कालिक कदम चाल्न र परागसेचकको संरक्षणमा समन्वय पुर्याउन आह्वान गरे।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कर्णाली प्रदेशमा कृषि र पशुपन्छी विकासमा सुधारका लागि रणनीतिक कदम चाल्नुपर्ने बताए। मिश्रले भने, “कर्णालीमा कृषि र पशुपन्छी विकासलाई प्राथमिकता दिनु पर्ने छ। हामीले तल्लो स्तरमा योजनाहरू पुर्याएर यो प्रक्रिया प्रभावकारी बनाउनुपर्छ।”

उनले यस क्षेत्रको पारिस्थितिकी र कृषि क्षेत्रको दिगो विकासका लागि सबैलाई सहयोगको आह्वान गरे। कार्यक्रममा नार्कका कार्यकारी निर्देशक डा. डोजराज खनालले रासायनिक मल र विषादीको प्रयोगका कारण परागसेचनमा समस्या आएको जनाए।

कर्णाली प्रदेशले परागसेचन र पर्यावरणीय संवेदनशीलतासाथ कृषि सुधारका रणनीतिहरू तयार गर्दै, परागसेचनको गिरावटलाई रोक्ने कदम चाल्नका लागि प्रयासरत रहेको छ। कर्णाली प्रदेशलाई पूर्ण जैविक क्षेत्र बनाउनका लागि विभिन्न योजनाहरू तयार भइरहेका छन् र यसको प्रभावकारी कार्यान्वयनले प्रदेशमा कृषि र पारिस्थितिकीको सन्तुलन कायम राख्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।



प्रतिक्रिया दिनुहोस !