२२ मंसिर २०८१, शनिबार

हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  28 November, 2024 3:20 pm


काठमाडाैँ । विभिन्न मितिमा हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच यस कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १८ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काभ्रेपलाञ्चोक,कोटेश्वरगौशाला,नँयाबसपार्क,सोह्रखुट्टे,मालिगाँउ,मंगलबजार,गोकर्ण,नगरकोट,ताथली र बुद्धनगर लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २७ ओटा सहित २१० ओटा सवारी साधन साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका २२ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३२ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाईएका २७ ओटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा यस कार्यालयमा निवेदन परेका थिए ।

सवारी साधन जिम्मा लिए पश्चात सवारी धनीहरूले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !