२२ मंसिर २०८१, शनिबार

स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरू हुँदै

प्रकाशित मिति :  28 November, 2024 5:04 pm


काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुने जानकारी गराएको छ। यो अवधि मंसिर १६ गते हुने मतदानको ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कायम रहनेछ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ का प्रावधानअनुसार यस अवधिमा कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा सभा, जुलुस, नाराबाजी वा अन्य प्रचार गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा कुनै पनि माध्यमबाट उम्मेदवार वा दलको पक्षमा सन्देश, सूचना वा सामग्री पोष्ट वा सेयर गर्न पनि रोक लगाइएको छ। मतदाताहरूमाथि प्रभाव पार्ने कुनै पनि गतिविधि नगराउन आयोगले सबै राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नीतु पोखरेल अर्यालले निषेध अवधिमा आचारसंहिता उल्लंघन भएमा स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा अनुगमन टोलीबाट कडाइका साथ निगरानी गरिने बताइन्। उनले उल्लंघनको अवस्था देखिए तत्काल कानूनी कारबाही गरिने र त्यससम्बन्धी सूचना निर्वाचन आयोगलाई उपलब्ध गराउन आग्रह गरेकी छिन्।



प्रतिक्रिया दिनुहोस !