२२ मंसिर २०८१, शनिबार
लुम्बिनी बहस

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रूपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

प्रकाशित मिति :  29 November, 2024 1:30 pm


काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालिन रूपमा सञ्चालन गर्न राज्यका सबै संयन्त्र लाग्नुपर्ने बताएका छन् ।

टक्सार म्यागजिन, न्युज एजेन्सी नेपाल र लुम्बिनी चेम्बर अफ कमर्ससहितका संस्थाले आयाेजना गरेकाे लुम्बीनीमा ‘लगानीः अवसर र चुनौति’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन्। उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालिन रूपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण मात्रैको पहलले सम्भव नभएको बताए ।

उनले त्यसको लागि राज्यका सम्पूर्ण संयन्त्रहरुको पनि साथ र सहयोग आवश्यक रहेको बताए । महानिर्देशक अधिकारीले सरकारले सबैभन्दा पहिला हवाई ट्राफिक व्यवस्थापनको लागि भैरहवा,पोखरामा उडान गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताए ।

उनले सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरू भैरहवा जाने वातावरण बन्ने बताए ।उनले हवाई ट्राफिकलाई भैरहवा उडान अनिवार्य नगरेसम्म भैरहवा विमानस्थलको दीर्घकालिन उडानको कल्पना गर्न नसकिने बताए । उनले हवाई उडान व्यवस्थापनमा सबै मिलेर नियमन गर्न आवश्यक रहेको भन्दै यो विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले बनाएकाले सरकारले विमानस्थल सञ्चालनको लागि चीनले काठमाडौँमा गर्दै आएको उडानको २५ प्रतिशत उडान पोखरा गर्न आग्रह गर्नुपर्ने बताए । उनले  नेपाल र हिमालय एयरलाइन्सलाई पनि हरेक विमानस्थलमा एक–एक उडान गर्नुपर्ने मापदण्ड सरकारले बनाउनु जरुरी रहेको बताए ।

“सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरू भैरहवा आउँछन् । हवाई ट्राफिकलाई सेक्रिग्रेट नगरेसम्म आजको दिनसम्म भैरहवा विमानस्थलको दीर्घकालिन उडानको कल्पना गर्न पनि सकिँदैन । ५० लाख पर्यटक ल्याउने प्रतिवद्धता हुनुपर्छ । सबै मिलेर रेगुलेट गरौं । यो कुरामा सरकारले पनि ध्यान दिनुपर्छ । हामीले पनि यो कुरामा पहल गर्नुपर्छ । क्यान अन्तरर्गत रहेको हुनाले भैरहवा र काठमाडौं विमानस्थलले कमाएको रकम पनि केन्द्रिय ट्रेजरीमा जान्छ । क्यानलाई पनि केही फरक पर्दैन । पोखरा चीनले बनाएको हो । सञ्चालनको लागि चीनले काठमाडौंमा गर्दै आएको उडानको २५ प्रतिशत उडान पोखरा गर्न आग्रह गरौं,” उनले भने ।

उनले राज्यले शक्ति देखाउँदा कम्तीमा अहिले ६ वटा एयरलाइन्सहरू भैरहवा विमानस्थलबाट उडान गरेको बताए । उनले  नेपालमा विमानस्थल बढ्दो क्रममा रहे पनि विमानको संख्या घट्दो अवस्थामा रहेकाले पनि समस्या देखिएको बताए । उनले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग १० देखि १२ वटा जहाज भएको भए सहुलियत समेत दिनुपर्ने अवस्था नभएको बताए । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !