२४ मंसिर २०८१, सोमबार

धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता

प्रकाशित मिति :  29 November, 2024 3:52 pm


धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असार महिना यताको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

लक्ष्मीनिया गाउँपालिकाको गाउँसभा हुन नसक्दा खातासम्म सञ्चालन नभएकाले वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् । आफूहरूले असार महिना यताको भत्ता पाउन नसकेको लक्ष्मीनिया गाउँपालिकाकी कुमारी मण्डलले गुनासो गरिन्। भत्ता नपाउँदा धेरै समस्यामा परेको उनले बताइन् । उनले भनिन्,”मेरै गाउँको अध्यक्ष हुन् तर पटक पटक भेटेरै गुनासो गर्दा समेत सुन्नुहुन्न ।”

यता अर्का वृद्धले छोराछोरीले घरमा खर्च नदिने र पालिकाले पनि भत्ता नदिँदा निकै मर्कामा परेका बताए। उनले भने, “भत्ताकै भरमा आफ्नो खर्च चलाईरहेका थियौँ तर पटक पटक धाउँदा समेत असारपछि भत्ता पाएका छैनौँ ।”

लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले प्रमुख प्रशासकीय अधिकृतका कारण यो समस्याको सिर्जना भएको आरोप लगाए । उनले प्रमुख प्रशासकीय अधिकृतको असक्षमताका कारण गाउँसभा नहुँदा पालिकाको खातासम्म सञ्चालन हुन नसकेको बताए । पालिकाको खाता सञ्चालन नभएकै कारण भत्ताहरुका साथै कर्मचारीहरुले तलवसम्म पाउन नसकेको बताए ।

यही विषयलाई लिएर लक्ष्मीनिया गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरूका साथै नागरिक समाजले दबाबमुलक कार्यक्रम समेत गरेका छन् । —न्युज एजेन्सी नेपाल 



प्रतिक्रिया दिनुहोस !