१ माघ २०८१, मंगलबार
दाङको राप्ती गाउँपालिकाको उदाहरणीय काम

उत्पादनमा बृद्धि ल्याउन धान उत्पादक कृषकको प्रतियोगिता

प्रकाशित मिति :  5 December, 2024 8:09 am


दाङ । दाङको राप्ती गाउँपालिकाले धान उत्पादनमा बृद्धि ल्याउन कृषकको प्रतियोगिता सञ्चालन गरेको छ ।

धान उत्पादन गर्ने कृषकहरुलाई पुरस्कार कार्यक्रम, धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गरेर गाउँपालिकाले धान उत्पादक कृषकका बिच प्रतियोगिता गराएको हो ।

कृषि पेशालाई सम्मानित बनाउनुका साथै कृषकलाई आत्मनिर्भर र प्रतिस्प्रधी बनाउने उद्देश्यले कृषक सम्मान कार्यक्रम सञ्चालन गरेको भन्दै गाउँपालिकाले कृषकको उत्साहजनक सहभागीता रहेको जनाएको छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख बरसाती गडरियाले प्रक्रिया पुर्याएर आएका १६ जना कृषकका बिचमा मात्र प्रतिस्प्रधा गराएको जानकारी दिए । प्रतिस्प्रधाका आधारमा बढी धान उत्पादन गर्ने चार जना कृषक चयन गरेको भन्दै शाखा प्रमुख गडरियाले केही दिनमा कार्यक्रम गरेर उत्कृष्ट कृषकलाई सम्मान गर्ने जानकारी दिए ।

प्रतियोगीतामा गाउँपालिकाको वडानम्वर–४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल प्रथम भएका छन् । उनले २८३.६२ प्रतिशत धान उत्पादन गरेका छन् । त्यस्तै २७० प्रतिशत धान उत्पादन गर्ने वडानम्वर–७ भानपुरका राजकुमार चौधरी द्वितीय भएका छन् । १७३.७ प्रतिशत धान उत्पादन गर्ने वडानम्वर–६ बरगापुरका हरिचन्द्र चौधरी तृतीय भएका छन्, भने १४२ प्रतिशत उत्पादन गर्ने वडानम्वर–६ हररपुरका चन्द्रबहादुर चौधरीले चौथो भएका छन् ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने कृषकले क्रमशः १२ हजार, १० हजार, ८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्, भने सान्त्वना स्थान हासिल गर्ने कृषकलाई कृषि औजार र सम्मान पत्र प्रदान गर्ने कृषि शाखा प्रमुख बरसातीले जानकारी दिए ।

यस्तो थियो कृषक छनौट मापदण्ड
गाउँपालिकाले कार्यविधि निर्माण गरेर धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन गरेको कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागी हुनका लागि कम्तीमा पाँच कठ्ठामा धानखेती गरेको हुनुपर्ने मापदण्ड निर्माण गरिएको थियो ।

नेपालमा बिक्री बितरणमा मान्यता प्राप्त धान खेती गर्नुपर्ने, खेती गरेको जग्गाको कित्तानम्वर खुलाउनु पर्ने, गाउँपालिकाको रोहबरमा धान काट्ने, दाउने र तौल गर्नुपर्नेलगायतका प्रावधान कार्यविधिमा उल्लेख गरिएको शाखा प्रमुख गडरियाले जानकारी दिए ।

त्यसैगरी प्रतियोगीतामा भाग लिनका लागि आवेदनका लागि तोकिए बमोजिमको निवेदन, आवश्यक विवरण, आधिकारिक व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र जग्गाको लालपुर्जा वा भाडाको जग्गा भए सम्झौता पत्रको प्रतिलिपि र वडाको सिफारिस अनिवार्य लिनुपर्ने प्रावधान राखिएको थियो ।

प्रतियोगीका लागि आवेदन दिएका कृषकहरुको १० वर्ग मिटर क्षेत्रफलमा उत्पादित धानको मूल्याङ्कन गरेको भन्दै कृषि शाखा प्रमुख बरसातीले कुल उत्पादनलाई १०० ले गुणन गरी आएका जम्मा अंकलाई औषत उत्पादनले भाग गर्दा प्राप्त प्रतिशतअनुसार विजयी कृषक घोषणा गरेको जानकारी दिए ।

कृषि पेशाप्रति आकर्षण बढाउन कृषक प्रतियोगिता
कृषि पेशालाई मर्यादित बनाउन र कृषि पेशाप्रति आकर्षण बढाउन प्रतियोगीता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए ।

कृषक छनौट मापदण्ड बनाएर गाउँपालिकाको आर्थिक वर्ष २०८१÷२०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार बढी धान उत्पादक कृषक पुरस्कार कार्यक्रम सञ्चालन गरेको भन्दै अध्यक्ष बिष्टले खाद्यान्न उत्पादनमा बृद्धि ल्याई कृषकलाई आत्मनिर्भर बनाउन कार्यक्रम सहयोगी बन्ने बिश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !