सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ
काठमाडाैँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १० सतुङ्गल खरिबोटमा १७ वर्षीया सरिता तामाङको हत्या प्रकरणमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ।
सरिता धादिङ गजुरी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल चन्द्रागिरीमा बिरेन्द्र श्रेष्ठको घरमा डेरा गरी बस्दै आएकी थिइन्। सरिता २०८१ मंसिर २९ गते राति १२ बजेपछि हराएको भन्दै उनका दाइ नविन रुम्बा तामाङले मंसिर १ गते प्रहरी वृत्त थानकोटमा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले खोजतलास गर्दा मंसिर ३ गते दिउँसो करिब ३ बजे सरिताको शव आफ्नै डेरा कोठाको लो बेडमुनि फेला परेको थियो।
घटनास्थलको अध्ययन, प्रविधिको प्रयोग र अनुसन्धानका क्रममा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर १४ खड्कागाउँस्थित डेराबाट विश्वास तामाङलाई पक्राउ गरेको छ। उनी धादिङ गजुरी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल खड्कागाउँमा बस्दै आएका थिए। पक्राउ गर्दा मृतक सरिताको मोबाइल फोन अभियुक्तको साथबाट बरामद गरिएको छ।
१७ वर्षीया सरिता नैकापस्थित विष्णु देवी शिक्षा सदनको कक्षा १० की छात्रा थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।








