रास्वपा रोल्पाको सभापतिमा रमेश थापा क्षेत्री चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको प्रथम जिल्ला भेला शनिबार सदरमुकाम लिबाङमा सम्पन्न भएको छ ।
भेलाले रमेश थापा क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ । जिल्ला समितिको उपसभापति, सचिव र सहसचिवमा क्रमशः बालाराम थापा, भुपेन्द्र सिंह वली र बालाराम डाँगी रहेका छन् । त्यस्तै समितिको सदस्यहरूमा एचबि घर्तीमगर, टेकनाथ गिरी, मुना डाँगी, कर्ण जंग केसी र बल बहादुर बढामगर रहेका छन् ।
भेलाको उद्घाटन लुम्बिनी प्रदेशका पार्टी सभापति तथा केन्द्रिय सदस्य देवरावज पाठकले घण्टी बजाएर गरेका थियो । भेलाका प्रमुख अतिथि प्रदेश सभापति पाठकले अहिलेको सरकारले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीको मुद्दा दर्ता गराएको दाबी गरे ।
“हाम्रो पार्टी सभापति रवि लामिछाने माथि अहिलेको सरकारले पूर्णतः राजनीतिक प्रतिशोध साँध्ने काम गरेको छ । अदालतले उहाँलाई न्याय दिने छ भन्नेमा हामी आशावादी छौं,” प्रदेश सभापति पाठकले भने “रास्वपालाई कमजोर बनाउन अहिलेको सरकारले जतिसुकै झुट्ठा अभियोग लगाए पनि रास्वपा कमजोर नभई अझैं बलियो बन्दै गई रहेको छ । आगामी चुनावमा काग्रेस, एमालेलाई जनताले भोट नदिएर पाखा लगाउने निश्चित छ ।”
केपी ओली नेतृत्वको सरकारले आफ्नालाई बचाउने र रास्वपालाई फसाउने प्रपञ्च गरी रहेको उनले आरोप लगाए । उनले भने “अहिलेको सरकारको काम भनेकै रास्वपालाई फसाउने नियत देखिएको छ । रास्वपाका नेता कार्यकर्तालाई जसरी पनि फसाउन प्रहरी प्रशासनको चरम दुरुपयोग गरिएको छ । काग्रेस, एमालेका कार्यकर्तालाई जसरी पनि बचाउन कानुनको विभिन्न छिद्रहरु प्रयोग गरी रहेको घाम जत्तिकै छर्लङ्ख छ ।”
रास्वपाले रोल्पा सहित ६१ जिल्लामा जिल्ला भेला सम्पन्न गरी नयाँ नेतृत्व चयन गरि सकेको छ । यसै बीच रास्वपा रोल्पाको प्रथम बैठक पनि सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । बैठकले पार्टीको आगामी कार्य योजना समेत पारित गरेको जिल्ला सभापति थापाले जानकारी दिए ।








