२४ बैशाख २०८१, सोमबार

संविधान संसोधन विधेयक आज संसदमा पेश हुने

प्रकाशित मिति :  31 May, 2020 8:19 am


काठमाण्डौं, १८ जेठ ।

सरकारले जारी गरेको नेपालको नयाँ नक्शा अनुसार संविधान संसोधन गर्न आज प्रतिनिधि सभामा विधेयक पेश हुने भएको छ ।

बैठकमा कानून,न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले विधेयक पेश गर्ने सम्भावित कार्यसूचि तय भएको छ । संसद सचिवालयले तयार गरेको सम्भावित कार्यसूची अनुसार आज बिहान ११ बजे बस्ने बैठकमा कानूनमन्त्री तुम्वाहाङ्फेले विधेयक पेश गर्ने छिन् ।

संविधान संसोधनका लागि सरकारले जेठ ९ गते संसदमा संविधान संसोधन सम्बन्धित विधेयक दर्ता गराएको थियो । यसअघि संविधान संसोधन विधेयक प्रस्ताव सम्बन्धि सूची हटाईएपछि विरोध भएको थियो । नेपाली कांग्रेसको हिजो राति अबेर सकिएको केन्द्रीय समिति बैठकले संविधान संसोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सरकारले यसअघि नक्शामा नसमेटिएका लिम्पियाधुरा,लिुपुलेक र कालापानीसहितको नयाँ नक्शा सरकारले जारी गरेको छ । मन्त्रिपरिषद् बैठकले नक्शा स्वीकृत गरेपछि भूमि,व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन मार्फत नक्शा सार्वजनिक गरेकी थिईन् । तर, संविधानको अनुसूची-३ मा रहेको निशान छापमा नेपालको पुरानै नक्शा भएकाले संसोधन गर्न लागिएको हो ।

संसोधनका लागि दुईतिहाई मत आवश्यक पर्छ । भारतले नेपाली भूमिमा सडक बनाएर उद्घाटन गरेपछि नेपालले यस्तो कदम चालेको हो । तर भारतले भने नेपालले जारी गरेको राजनीतिक तथा प्रशासनिक नक्शा नमान्ने बताएको छ । नेपालले भने सुगौली सन्धीलगाय थुप्रै प्रमाणले लिम्पियाधुरा,लिपुलेक र कालापानी नेपालको भएको पुष्टि हुने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !