२० बैशाख २०८१, बिहिबार

भारतमा एकै दिन ८ हजार ३ सय संक्रमित थपिए, लकडाउन लम्बियो

प्रकाशित मिति :  31 May, 2020 10:51 am


काठमाण्डौं, १८ जेठ ।

भारतमा एकै दिन ८ हजार ३ सय भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । यो अहिलेसम्म एकै दिन भेटिएको सबैभन्दा ठूलो संक्रमित संख्या हो ।

भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ९३जनाको मृत्यु भएको छ भने ८ हजार ३ सय ८० संक्रमित भेटिएका  छन् । भारतमा अहिलेसम्म १ लाख ८१ हजार ८ सय २७ जना संक्रमित बनेका छन् भने ५ हजा १ सय ८५ जनाको मृत्यु भईसकेको छ । भारत कोरोना संक्रमित देशमध्य विश्वको दशौं नम्बरमा छ । मृतकको संख्या समेत चीन भन्दा धेरै भएको छ ।

भारतपछि पछिल्लो समय आर्थिक गतविधिलाई अगाडि बढाउने गरि लकडाउन ढाँचा परिवर्तन गरिरहेका बेला एकै दिन ठूलो संख्यामा कारोना संक्रमित भेटिएका हुन् ।

भारतमा २४ मार्चदेखि लकडाउन जारी छ । लकडाउन लम्ब्याउने निर्णयसँगै यसलाई क्रमशः खुकुलो पनि पार्दै लगिएको छ । अर्थतन्त्र नै डामाडोल हुने स्थिति सिर्जना हुन थालेपछि भारत सरकार लकडाउनलाई खुकुलो पार्न बाध्य भएको हो ।

गृह मन्त्रालयले लकडाउन थप खुकुलो पार्दै जाने नीतिअनुसार शनिबार नयाँ निर्देशिका जारी गरेको छ । मे १८ मा लागू गरिएको चौथो चरणको दुई साता लामो लकडाउन अवधि आइतबार पूरा हुँदै छ । गृह मन्त्रालयले संक्रमणको उच्च जोखिम मानिएका ‘कन्टेनमेन जोन’ का लागि जुन १ देखि ३० सम्मका लागि पाँचौं चरणको लकडाउन घोषणासमेत गरेको छ । त्यसबाहेकका क्षेत्रका लागि भने चरणबद्ध रूपमा विभिन्न क्षेत्रलाई खुला गर्ने निर्णय गरिएको छ ।

संक्रमण बढ्दै गएपछि लकडाउनका कारण अर्थतन्त्र नै धरापमा पर्न थालेपछि भारत सरकारले यसलाई क्रमशः खुकुलो बनाउँदै लाने नीति लिएको छ ।  विशेषगरी आर्थिक क्षेत्रको पुनरुत्थानमा केन्द्रित रहेको छ ।

नयाँ निर्देशिका अनुसार विशेषगरी पाँचौं चरणको लकडाउन विशेषगरी संक्रमणको उच्च जोखिम रहेको क्षेत्रमा मात्रै सीमित हुनेछ । पहिलो चरणअन्तर्गत ८ जुनदेखि धार्मिक स्थल, होटल, रेस्टुराँ, सपिङ मल खुला हुनेछन् । दोस्रो चरणमा राज्य र केन्द्र शासित प्रदेशको सुझावअनुसार स्कूल, कलेज, तालिम लगायत सञ्चालनमा आउनेछन् ।



प्रतिक्रिया दिनुहोस !