८ चैत्र २०८२, आइतबार

ट्रान्सफ्याट मापदण्ड कार्यान्वयनमा विभागको कडाइ, २ प्रतिशत भन्दाबढी भए‌ कारबाही हुने

प्रकाशित मिति :  14 January, 2025 11:14 pm


काठमाडाैँ । नेपाल सरकारले औद्योगिक ट्रान्सफ्याटको नियन्त्रणमा नयाँ मापदण्ड लागू गर्दै कडा कारबाहीको तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८१ साउन २२ गतेदेखि लागू भएको अनिवार्य गुणस्तर मापदण्ड ०२.१८ अनुसार ट्रान्सफ्याटको मात्रा सीमित गर्न निर्देशन दिएको छ।

नियम अनुसार, हाइड्रोजिनेसन प्रक्रियाबाट उत्पादन हुने वनस्पति घ्यू र आंशिक रूपमा हाइड्रोजिनेटेड तेलको प्रयोगबाट तयार गरिने खाद्य पदार्थमा कुल चिल्लो पदार्थको तौलको २ प्रतिशतभन्दा बढी ट्रान्सफ्याट हुनु नहुने प्रावधान गरिएको छ। साथै, खाद्य पदार्थको लेबलमा ट्रान्सफ्याटको मात्राबारे स्पष्ट रूपमा जानकारी दिनुपर्ने व्यवस्था अनिवार्य छ।

‘ट्रान्सफ्याट रहित’ भनेर दाबी गरिएको खाद्य पदार्थमा प्रति १०० ग्राम चिल्लो पदार्थमा ०.२ ग्रामभन्दा बढी ट्रान्सफ्याट हुन नहुने नियम लागू गरिएको छ। यस प्रावधान उल्लंघन गर्ने व्यवसायीहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत कारबाही गरिने विभागले चेतावनी दिएको छ।

सरकारको यस कदमलाई उपभोक्ताको स्वास्थ्य संरक्षणका लागि महत्वपूर्ण मानिएको छ। ट्रान्सफ्याटको अत्यधिक प्रयोगले हृदयघात, मधुमेह र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। मापदण्ड कार्यान्वयन गर्न विभागले प्रभावकारी अनुगमन गर्ने र दोषीलाई कारबाही गर्न दृढता व्यक्त गरेको छ।

विभागले सबै खाद्य उत्पादक, आयातकर्ता, सञ्चयकर्ता र विक्रेतालाई नियमको पूर्ण पालना गर्न आग्रह गर्दै जनस्वास्थ्यलाई प्राथमिकतामा राख्न आह्वान गरेको छ।ट्रान्सफ्याट मापदण्ड कार्यान्वयनमा विभागको कडाइ, २ प्रतिशत भन्दाबढी भए‌ कारबाही हुने



प्रतिक्रिया दिनुहोस !