भावनामा बगेर होइन यथार्थमा रहेर मूल्याङ्कन गरौं- मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थापनाको केही वर्षमै प्रदेशको बारेमा नकारात्मक टिकाटिप्पणी गर्ने समय भइनसकेको भन्दै भावनामा बगेर होइन, यथार्थमा रहेर प्रदेश सरकारको मूल्याङ्कन गर्न आग्रह गरेका छन्।
मुख्यमन्त्रीसँग कान्तिपुर बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार स्थापना भइसकेपछि भौतिक विकास र मानव विकासका कामले गति लिएको, नागरिकहरूले अपनत्व गर्दै गएका कारण प्रदेश सरकार जनताकै पक्षमा रहेको पुष्टि गरेको बताएका हुन् ।
“प्रदेशको बारेमा नकारात्मक टिकाटिप्पणी गर्ने बेला अझै भइसकेको छैन। भावनामा बगेर होइन, यथार्थमा रहेर प्रदेश सरकारको मूल्यांकन गर्न जरुरी छ”, उनले भने, “प्रदेश सरकार स्थापना हुनुअघि र स्थापना भएको अवधिमा भएका विकासलाई तुलना गरेर मात्रै मूल्याङ्कन गर्दा न्याय हुन्छ भन्ने लाग्छ।”
प्रदेश स्थापनापछिका ७ वर्षको अवधिमा गाउँबस्तीको मुहार फेरिएको, बाटोघाटो पक्की भएको, खानेपानीको धारा घर-घरमा पुगेको, आधारभूत स्वास्थ्य उपचारमा नागरिकको पहुँच पुगेको, गाउँ तहमा शिक्षालयहरू खुलेको, प्राविधिक विषयको अध्ययन गर्न समुदायमै अवसर प्राप्त भएका जस्ता उपलब्धिलाई पनि हेर्न जरुरी रहेको उनको भनाइ छ।
गाउँमा विकास पुर्याउने काम प्रदेश सरकारले गरिरहेको र जनजीवनमा सकारात्मक परिवर्तन देखा परेको मुख्यमन्त्री आचार्यको भनाइ छ। प्रदेश सरकारले प्रदेश गौरवका आयोजनालाई तीव्रता दिएको र चाँडै सम्पन्न गर्ने गरी रणनीति बनाएको बताए ।
पाल्पाको रामपुरदेखि रोल्पाको जिनावाङ सडक, लुम्बिनी प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्रदेश प्रशासनिक केन्द्र भवन निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगञ्जको कामलाई सरकारले गति प्रदान गरेको उनले उल्लेख गरे।
कान्तिपुरसँग मुख्यमन्त्री कार्यक्रममा नागरिकले उठाएका सवालहरूको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले नागरिकका समस्या सुन्न, पीरमर्का बुझ्न प्रदेश सरकार जतिबेला पनि तयार रहेको बताए।
“जनताको पीरमर्का बुझ्नकै लागि सरकार बनेको हो। नीति, नियम, कानून बनाएर समस्यालाई समाधान गर्ने गरी कामहरू भइरहेका छन्,” उनले भने, “केही काम अझै गर्न बाँकी छन्। त्यसमा सरकारले ध्यान दिएको छ ।”








