तीनै तहले अपनत्व ग्रहण गर्ने गरी सहकारी प्राधिकरणकाे गठन गरेका छाैँ: मन्त्री अधिकारी

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले तीनै तहले अपनत्व ग्रहण गर्नेगरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणकाे गठनको गरेकाे बताएका छन् ।
ललितपुरको पुलचोकमा स्थापना गरिएको प्राधिकरण कार्यालयको उद्घाटन समाराेहमा बाेल्दै मन्त्री अधिकारीले पछिल्लाे समय तीनै तहका सहकारीहरूमा देखिएका समस्याहरूको दीर्घकालिन समाधानको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भएकाे बताएका हुन् ।
उनले सहकारीहरूको नियमन र वचतकर्ताको बचत रकम अपचलन गर्ने जो कोहीलाई कानूनको दायरामा ल्याउन सकिने विश्वास व्यक्त गरे। उनले प्राधिकरणको कार्यान्वयका लागि सर्च कमिटी गठन गर्न ढिलाई हुने भएका कारण तत्काल मन्त्रालयका सचिव अध्यक्ष रहने गरी व्यवस्था गरिएको बताए । उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार लागिपरेको उल्लेख गर्दै सबैले साथ र सहयोग गर्न आग्रह गरे ।
उनले सहकारी सम्बन्धी ऐन र कानूनहरु पुराना भएका कारण केही समस्या सिर्जना भएको उल्लेख गर्दै समयानुकुल बनाउँदै लैजाने बताए । उनले भने,”हामीले देखिएका समस्या समाधान गर्नको लागि जस्तोसुकै समस्या समाधान गर्न पछि हट्दैनौं । प्राधिकरण कार्यान्वयनमा प्रश्न उठेका छन् । नयाँ मान्छेले मात्र गर्छ भन्ने हुँदैन । यो कुरामा पनि ध्यान दिन जरुरी छ । हामीले कार्यान्वयन गर्नको लागि हामीले यो उद्घाटन गरेका छौं । सर्च कमिटी पनि गर्ने । त्यो गर्न ढिलाई हुने भएकाले हामीले यसरि काम गर्न थालेका हौं । नमिलेका कुराहरुलाई मिलाउँदै जानुपर्छ ।”
अधिकारीले वर्तमान सरकारले जनता र मुलुकका समस्याहरु राम्रोसँग बुझेको उल्लेख गर्दै ति समस्याहरुको समाधानका लागि विद्यमान ऐन र कानूनहरूलाई परिमार्जन गर्दै अघि बढ्ने बताए । मन्त्री अधिकारीले केहीले सरकार ढलिहाल्छ भनेर कुप्रचार गरिरहेको बताउँदै वर्तमान सरकार स्पष्ट बहुमतको भएको उल्लेख गर्दै कसैले ढाल्छु भन्दैमा नढल्ने दाबी गरे ।