चोरी पैठारी नियन्त्रण गर्न मुख्य भन्सार कार्यालयहरूमा अर्थ समितिको अनुगमन

काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको छ ।
मंगलवार अर्थ समितिका सदस्यहरूले महोत्तरीको जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको हो । मुख्य भन्सार नाकाहरूमा चोरी, पैठारी नियन्त्रण गर्न अर्थ समितिले मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गरिरहेको छ ।
अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गरिरहेको छ । उपसमितिका संयोजक नारायणी शर्माले समितिमा भन्सारमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले समितिले देशभरका भन्सार कार्यालयको अनुगमन गरिरहेको बताइन् ।
उनले समितिले भन्सार ऐन समेत बनाई रहेकाले भन्सारका समस्या र ऐनमा समावेश गराउनुपर्ने विषयको समेत प्रत्यक्ष अनुगमनमार्फत जानकारी दिने उद्देश्यले अहिलेसम्म नेपालगञ्ज भन्सार कार्यालय,कृष्णनगर,भैरहवा,विराटनगर हुँदै आज जलेश्वर भन्सार कार्यालयको अनुगमन सकिएको बताइन् ।
समितिले अनुगमनका क्रममा राजश्व वृद्धिदर घट्नुका कारण, भन्सार चुहावट वृद्धि लगायतका विषयमा अनुगमन गरिरहेको जानकारी दिएको छ ।