सांसद गौतमको आरोपः अभियोजन लगाउने सन्दर्भमा सरकारले कानूनको दुरुपयोग गर्यो

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोवता गौतमले सरकारले कानूनको दुरुपयोग गरेर मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाएकी छन् ।
मंगलवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले सरकारले थुनेर मात्र अभियोजन लगाउँदै मानव अधिकारको गम्भिर उल्लङ्घन गरिरहेको आरोप लगाएकी हुन् । अभियोन लगाउनुपर्ने कारण भए नथुनिकन पनि राज्यले अभियोजन लगाउन सक्ने कानूनी व्यवस्था भएपनि लामो समयसम्म थुनेर मात्र अभियोजन लगाउने प्रवृत्तिको विकास भएको बताइन् ।
उनले सरकारले कसैले सार्वजनिक रूपमा प्रश्न उठाउने बित्तिकै पक्राउ गरिहाल्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले न्यायिक निरुपण गर्ने संस्थाले अपराधी करार गरे जसरि नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन हुने जिकिर गरिन् । सरकारले जनताको माग समस्या गर्न नसक्दा जनताले आक्रोशित रूपमा प्रश्न गर्ने गरेको र सरकारले अभद्र व्यवहारमा मुद्दा चलाउने गरेको भन्दै विरोध जनाइन् ।
गम्भिर मुद्दाका कसुरदारबाहेकलाई थुनामा नराखि अभियोजन चलाउनुपर्नेमा उनको जोड छ ।